सिद्धबाबा सडकखण्डमा टनेल मार्ग निर्माण हुन्छ : गृहमन्त्री
रुपन्देही- गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आगामी प्रदेश तथा संघीय निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं. २ रुपन्देहीद्वारा शनिबार बुटवलको बेलबासमा आयोजना गरिएको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताउएका हुन ।
गृहमन्त्री खाँणले आगामी आर्थिक वर्षबाट बुटवल–पाल्पा सडकखण्डको पहिरो प्रभावित सिद्धबाबा सडकखण्डमा टनेल मार्ग निर्माण सुरु गर्ने बताउँदै बुटवल नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा समेत सरकारले टनेल मार्ग बनाउने बताउनु भयो ।।
उहाँले मझिमटारदेखि शक्तिखोरसम्मको सडकखण्डमा पनि टनेल मार्ग निर्माण सुरु गर्ने बताउँदै खासगरी लुम्बिनी क्षेत्रलाई रोजगारीसँग जोड्न सरकारले सुरक्षित यात्रालाई व्यवस्थित बनाउने उल्लेख गर्नुभयो ।
गृहमन्त्री खाँणले खासगरी रुपन्देहीलाई औद्योगिकरणसँग जोड्ने र पर्यटक आउने गन्तव्यका रुपमा विकास गर्न सरकारले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनु भयो ।