बागमतीका मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने
बागमती – प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो ।
‘केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ । तलका हल्लाले केही फरक पर्दैन’, बैठकपछि संसदीय दलका उपनेता कृष्ण खनालले भने, ‘केन्द्रीय गठबन्धनले मिलाएर जाउँ भनेमा मुख्यन्त्रीले राजीनामा दिनुहुन्छ नत्र राजीनामा सम्भव छैन ।
उनले भने, ‘नियमित प्रकिया अन्तर्गत संसदीय दलको वैठक बसेको हो । यसमा मुख्यमन्त्रीको राजीनामाको विषयमा छलफल हुने कार्य तालिका नै थिएन । केन्द्रीय नेताहरुको सहमतिबाटै सरकारको नेतृत्व फेरिने हो । यो बागमती मात्र नभएर सातै प्रदेशको कुरा हो । हामीले यहाँ छोडदा कहाँ पाउने त्यो पनि एउटा विषय हुन आउँछ । त्यसैले आजको बैठकमा सो विषयमा छलफल भएन । शीर्ष नेताको निर्णय नै अन्तिम हुनेछ ।
नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले वागमतीमामात्रै मुख्यमन्त्री परिवर्तन हुननसक्ने बताए । उनले सातै प्रदेशबारे छलफल भएर निर्णय भए आफ्नो पार्टी बाधक नबन्ने तर बागमतीको मात्रै मुख्यमन्त्री परिवर्तनको पक्षमा आफ्नो पार्टी नरहेको बताए ।
आजको बैठकमा प्रदेश सरकारको बजेट कार्यान्वयन र तिनका चुनौतीको लागि अगाडिको रणनीतिका विषयमा छलफल भएको खनालले बताए । बैठकमा आगामी निर्वाचनको तयारीमा लाग्न सबै सांसदहरुलाई निर्देशन समेत दिइएको छ ।