कुपोषण जितेका छोराको भविष्य खोज्दै श्यामलाल
रोल्पा नगरपालिका-४ लिवाङका श्यामलाल विकको उमेर ५० वर्ष भयो । उनका दुई छोरा विवेक र विकास सानै छँदा कुपोषणमा परेका हुन्।
दुई छोराको उपचार र स्याहारमा उनलाई लामो समय पर्खनु परेको थियो । अहिले दुवै छोराको कुपोषणमा सुधार त आएको छ तर कुपोषणबाट उत्रिएका छोराहरूको भविष्य खोज्न भौतारिन्छन् उहाँ ।
अहिले जेठो छोरो विवेक सात वर्ष र कान्छो छोरो विकास छ वर्षका भए । दुवै छोरालाई कुपोषण भएपछि उनीहरूको जीवन रक्षाका लागि हारगुहार गरे । अन्ततः एक संस्थाले उनीहरुलाई पोषण गृहमा राखेर उपचार र स्याहार गर्न सहमत भयो । उनले सोही संस्थाको सहयोगमा छोराहरुलाई करिब एक वर्ष दाङमा रहेको पोषण सुधार गृहमा पनि राख्नु भयो ।
पोषण सुधार गृहमा राखेको छ महिनाभित्रै जेठो छोरा विवेकको कुपोषणमा सुधार आयो । कान्छो छोरा विकास भने अहिले पनि अपाङ्गता जस्तै छ । छ वर्ष उमेर पार गरिसकेका उनी राम्रोसँग हिँडडुल गर्न सक्दैन । हात खुट्टा समेत राम्रोसँग चल्दैनन् । दुवै छोरा कुपोषणबाट मुक्त त भए तर उनीहरूको साँझ बिहान हातमुख जोर्न ज्यालामजदुरी गर्छु श्यामलालले बताउनु भयो , अन्तपात उब्जनी हुने जग्गा छैन, मागेर कति दिन चल्छ र ? त्यसैले काम खोज्दै भौतारिन्छु भन्दै आफ्नो दःख पिरा सुनाउनुभ भयो ।
उनले अघि भने, काम नखोजे के खाएर बाँच्ने, त्यसैले कान्छो छोरालाई दिनभरी घरको कोठामा थुनेर काम गर्न जान्छु । कहिलेकाँही त बिहान निस्केको एकै चोटी बेलुका फर्कनु पर्छ । त्यस्तो बेला दिसापिसाबले घेरिएरको हुन्छ ।
घरमा खानेकुरा नभएकाले अझैं पनि उनका छोराहरू दिनभरी भोकभोकै बस्छन् । काम गरेको पैसाले साँझ बिहान छाक टार्न धौधौ हुन्छ अनि कसरी दिउँसोको नास्ता पुर्याइदिउँ, श्यामलालले भने ।
आमा अप्सरा विकले अर्को विवाह गरेपछि छोराहरू सानै उमेरमा अलपत्र परे । कान्छो छोरा विकास १ वर्ष नपुग्दै अप्सरा घरबाट निस्किएकी थिइन् । श्रीमतीको खोजतलास गरेँ तर पत्ता लगाउन सकिनँ’ श्यामलालले भने, अर्को विवाह गरेर गएको भन्ने खबर गाउँलेहरुबाट थाहा पाएँ ।
कुपोषणबाट उत्रिएका छोराहरुको भविष्य खोज्न बिहानै कम्मरमा नाम्लो कसेर निस्कन्छन श्यामलाल । नाबालक छोराहरुलाई पालनपोषण गर्ने र पढाउने जिम्मा आएपछि जेठो छोरालाई गाउँकै विद्यालयमा भर्ना पनि गरेका छन् उनले । ‘किताब नि:शुल्क पाएपनि विद्यालय पोशाक र कापी कलमका लागि खर्च जुटाउनु पर्छ,श्यामलालले भने ।