महावीर पुन गण्डकी रत्न सम्मान द्वारा विभूषित
पोखरा- गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा उहाँलाई सो सम्मानबाट सम्मानित गरेका हुन् ।
गण्डकी प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा प्रदेश सरकारले गरेको हो । त्यतिबेला पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उहाँलाई सम्मान प्रदान गरिएको हो ।
सो अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा पुनले महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै प्रशंसा गरेका हुन्। शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए। गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने उहाँले विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी प्रदेश सरकारले १० करोड विनियोजन गरेको जानकारी गर्नु भयो । उहाँले भन्नुभयो, ‘हामीले महसुस गरेका छौं, समृद्धिका लागि अनुसन्धानको महत्व कति छ भन्ने छिट्टै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले पुनको सम्मानले गण्डकी प्रदेशको शिर उँचो भएको बताउनुभयो । सो अवसरमा आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेशभित्र जन्मिएर यहाँकै श्रीवृद्धिका लागि योगदान गरेकोबाट नामहरु छनोट गरिएको बताउनुभयो । छनोट समितिले ३ जनालाई छान्नसक्ने कार्यविधि भए पनि पहिलो पटक भएकाले एक जनालाई मात्र छनोट गरिएको जानकारी दिए ।
गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्थामन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासनलगायतका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिमध्येबाट सम्मान गर्नेगरी कार्यविधि बनाइएको छ ।
विभूषण ग्रहणपछि महावीर पुनले आफू अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरु समृद्ध भएको उदाहरण दिनुभयो । उहाँले भन्नुभयो, अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त बनेको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्नु हुँदैन ।
अनुसन्धान आफैमा कठीन काम भएको भन्दै उहाँले एक सयवटा अनुसन्धानमध्ये दश पन्ध्रवटा मात्र सफल हुने भएकाले सतप्रतिशत नतिजा आउन नसक्ने चर्चा गर्नुभयो । हाम्रो बजेट सिस्टमले असफल भएको कार्यक्रमलाई रकम दिन नमिल्ने भन्छन् तर सबै अनुसन्धान सफल नै हुन्छन् भन्ने छैन उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय मार्फत आविष्कार केन्द्र खोलेकामा आफू उत्साही भएको उहाँले बताउनुभयो ।
विज्ञान, प्रविधि, सूचना एवम् वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दैआएका पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८ नाँगीमा २०११ सालमा जन्मनुभएको हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन बायोमेडिकल, कृषि, शिक्षा, ड्रोनलगायत क्षेत्रमा काम गर्दैआएका छन् । पुन रोमन म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भइसक्नुभएको छ ।
कार्यक्रममा छनोट समितिका संयोजक मन्त्रीकुमार खड्कासहित मन्त्रीहरु, प्रदेश सभाका सदस्य, नीति तथा योजना आयोगका प्रमुख सचिव, सचिवहरुसहित निजी तथा सरकारी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।