कहिले पूरा होला गुर्जावासीको सडक सपना !
म्याग्दी- जिल्लाको धवलागिरि गाउँपालिकाको १ नम्बर वडा गुर्जा मात्र हो, जहाँ अझै सडक पुगेको छैन । जिल्लाका ४५ वडा मध्य ४४ वडामा सडकको पहुँच विस्तार भएको छ । जिल्लाकै विकट र दुर्गम वडा गुर्जामा सडक विस्तार नहुँदा गुर्जावासीको दैनिकी कष्टकर छ ।
गाउँपालिका केन्द्र मुना आउन १० घण्टा पैदल हिड्नुपर्दछ । बेनी देखि मुना सम्म पुगेको सडकलाई गुर्जा सम्म पुर्याउन गाउँपालिकाले प्राथमिकतामाराखेपनि सिमित स्रोतसाधनका कारण पालिकाको बजेटबाट गुर्जामा सडक पुर्याउन सम्भव छैन । गुर्जावासीको सडक सपना पुरा गर्न प्रदेश सरकारको बलियो साथको खाँचो छ ।
तर गण्डकी प्रदेश सरकारले वार्षिक १० लाख रुपियाँ बजेट विनियोजन गरेर गुर्जावासीको सडक सपना एकसताब्तीमा पनि पुरा हुने देखिदैन । गाउँपालिकाले मुना–लुलाङ – गुर्जामा सडक योजनाको अघिल्लो वर्ष डिपिआर तयार पारेको थियो । डिपिआर अनुसार योजनालाई पुर्णता दिन करिब ४७ करोड रुपियाँ लागत अनुमान गरिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
उक्त बजेट मुना देखि गुर्जा सम्म सडकको ट्रयाक खोल्ने,सडक स्तरोन्नती र कालोपत्र सहितको लागत अनुमान गरिएको उहाँले बताउनुभयो । सडकको ट्रयाक मात्र खोल्न पनि करिब १० करोड रुपियाँ लाग्ने उहाँले बताउनुभयो ।
कठिन भूगोलका कारण गुर्जामा सडक पुर्याउन ठूलो चुनौती छ उहाँले भन्नुभयो वार्षिक रुपमा न्यून बजेट विनियोजनले पचास वर्षमा पनि गुर्जामा सडक पुग्दैन । गाउँपालिकाले यसअघि सुरुङ मार्गको अध्ययन पनि गरेको थियो उहाँले भन्नुभयो सुरुङ मार्गको लागत धेरै लाग्ने भएकाले सम्भव देखिएन ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा जम्मा १० लाख रुपियाँ विनियोजन गरेको छ उहाँले भन्नुभयो ४७ करोड रुपियाँ लागत स्टिमेट भएको योजनामा १० लाखका दरले बजेट विनियोजन गर्ने हो भने गुर्जामा सडक पुर्याउन कति वर्ष लाग्ला ?
गाउँपालिकाको स्रोतसाधनबाट गुर्जामा सडक पुर्याउन नसकिने भएकाले संघ र प्रदेश सरकारलाई अनुरोध गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।
करोडौं रकम विनियोजन गरेर गुर्जामा सडक पुर्याउन पालिकाले सक्दैन उहाँले भन्नुभयो संघ र प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिनुपर्दछ । डिपिआर सहित संघ र प्रदेश सरकारसँग बजेट माग गरिएको उहाँले बताउनुभयो ।
दुर्गम र विकट गुर्जावासीको सडक सपना पुरा गरिदिन पटक पटक प्रदेश सरकार सँग माग बजेटको माग गरेपनि सुनुवाई नभएको वडाध्यक्ष छन्त्यालले गुनासो पोख्नुभयो ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले ४५ लाख र प्रदेश सरकारको १० लाख गरि ५५ लाख रुपियाँ विनियोजन भएको छ । बजेटको यही दरले सडकको ट्रयाक मात्र खोल्न पनि कम्तीमा १० वर्ष लाग्ने उहाँले अनुमान गर्नुभयो ।
सडकको ट्रयाक मात्र खोल्न पनि कम्तीमा १० करोड रुपियाँ आवश्यक पर्दछ वडाध्यक्ष छन्त्यालले भन्नुभयो गुर्जामा सडक पुर्याउनुपर्दछ भनेर नेताहरुले भन्छन् तर बजेट विनियोजन गर्दा कन्झुस्याई गर्दछन् ।
सडकको पहुँच नपुग्दा खच्चडको भरमा खाद्यान्न ढुवानी महँगो हुने गरेको छ । विरामीलाई अस्पताल सम्म पुर्याउन घण्टौ समयलाग्नेगरेको छ । सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा ल्याएको खाद्यान्नलगायत सामग्री चर्को मूल्य तिर्न बाध्य छन् ।
गाउँपालिकाको केन्द्र मुनादेखि चर्को शुल्क तिरेर खच्चडको भरमा ढुवानी गर्दा गुर्जावासी दोब्बर मूल्यमा दैनिक उपभोग्य बस्तु उपभोग गर्दै आएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।
यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था र रोजगार नभएका परिवारलाई आयातित खाद्यान्न महंगो मूल्यमा उपभोग गर्न बाध्य गुर्जाका जनता रहेको अध्यक्ष छन्त्यालले बताउनुभयो । खाद्यान्न मात्र होइन कमजोर आर्थिक अवस्था भएका परिवारमा कोही बिरामी भए भने स्थानीयवासीले बोकेर अस्पताल सम्म पुर्याउनुपर्ने समस्या झनै बढी पीडादायी छ ।