Connect with us
Kapilvast Forest

चितवनका गैँडा शिकारी : प्रहरीबाट बच्न मजदुरको भेष

२०७९, ४ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जमा २०७७ भदौदेखि कार्तिक सम्ममा ४ वटा गैँडा मारिए । सो घटनाको सत्य तथ्य पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा खटिएका सैनिकलाई ठुलो चुनौती थियो ।

लामो अनुसन्धानपछि गैँडा शिकारमा संलग्न दुई जनालाई चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरोले यही असार दोस्रो साता नियन्त्रणमा लिएको छ । चितवनको राप्ती नगरपालिका–१० घर भएका ४१ वर्षीय रामकुमार प्रजा असार १३ मा र कालिका नगरपालिका–९ घर भएका ४३ वर्षीय बम बहादुर प्रजा असार १६ मा पक्राउ परेका हुन् ।

४ वटा गैँडा मार्ने योजना चाहिँ कास्की कारागारमा बनेको थियो । गैँडा मारेको मुद्दामा जेल परेका रामकुमार र बमबहादुरको कैलाश आलेसँग चिनजान भएको थियो । कैलाश चीनबाट अवैध सुन ल्याएको आरोपमा गोरखाबाट पक्राउ परेर कारागारमा थिए ।

जेलमा उनीहरूले गैँडाको ‘खाग’को काम गर्ने सल्लाह गरे । चाँडो रिहा भएका कैलाश पछि ती दुईलाई भेट्न गए, फोन नम्बर दिएर भने,‘निस्केपछि फोन गर्नु, गैँडाको काम गर्नुपर्छ ।

जेलबाट छुट्नासाथ २०७७ कार्तिकमा गैँडा मारेर रामकुमार र बमबहादुरले गोरखाका कैलाशलाई खबर गरे । कैलाशले हेटौँडाका मेघ बहादुर नेपालीलाई त्यसबारे भने । मेघबहादुर, कैलाश, एकजना पूर्व प्रहरी र सशस्त्रका बहालवाला लक्ष्मण विक मिलेर चितवनको कोराक गए ।

डिलिङ गर्ने बहानामा खाग लुटेर भागे । मेघबहादुर प्रहरीका पूर्व सुराकी हुन् । रामकुमार र बमबहादुरले खाग लुटेरा खोज्दै थिए । त्यसै बीचमा घटना प्रहरीसम्म पुग्यो ।

गैँडाको खाग लुटेको घटना बाहिरिएसँगै गैँडा तस्करीको दोस्रो लेयरमा रहेका कर्मा तामाङ, योन्देन तामाङ र नाङ्गे तामाङलाई सीआईबीले नियन्त्रणमा लियो ।लुटेको खाग मेघबहादुरले कर्माको समूहलाई ७० लाखमा बेचेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।

कर्माको समूहले रकम मेघबहादुरको खातामा डिपोजिट गरिदिएको थियो । खाग किन्ने कर्माको समूह तिब्बतीयन मूलका नेपाली हुन् । मुगुमा बसोबास गर्ने उनीहरूले त्यहीँबाट नागरिकता लिएका छन् ।

कर्माको समूहको तिनैजना पक्राउ परे, अहिले पुर्पक्षका लागि थुनामा छन् । उता गैँडा मार्ने रामकुमार र बमबहादुर भने फरार भए ।
मजदुरको भेषमा सडक निर्माण

केन्द्रीय अनुसन्धान ब्यूरो र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले रामकुमार र बमबहादुरको खोजी कार्य जारी राखेको थियो । सूचना आयो, ‘रामकुमार काठमाडौंको दक्षिणकाली हुँदै मकवानपुर जोड्ने सडक निर्माणमा मजदुरी गरिरहेका छन् ।

भेष बदलेर सडक निर्माण गरिरहेको अवस्थामा ४१ वर्षीय रामकुमार प्रजालाई असार १३ मा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले रातोपाटीलाई बताए ।

बमबहादुर चाहिँ मकवानपुरको गाउँमा लुकेर बस्थे । बमबहादुर पछिल्लो समय गैँडा शिकार गरेको मुद्दामा प्रहरीले खोजी व्यापक बनाएपछि चरेश तस्करीमा लागेका थिए ।

गैँडा शिकारीहरूले भरुवा बन्दुक प्रयोग गरेर गैँडा मार्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । बमबहादुर आफैंले १७ राउण्ड फायर गरेर गैँडा शिकार गरेको स्वीकारेका छन् । चारवटा गैँडा मार्दा रामकुमारले बञ्चरोले खाग काटेर पकाउने भूमिका निभाए ।

सिकारीहरूले खाग पकाएर दोस्रो लेयरका तस्करलाई बेच्ने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ ।यसअघि गैँडा मारेर खाग तस्करी गरेको कसुरमा रामकुमार प्रजा २०६० देखि ०७० सालसम्म १० वर्ष जेल बसेर छुटेका थिए ।

बम बहादुर प्रजा २०६० देखि २०७५ सालसम्म १५ वर्ष जेल बसेर छुटेका थिए । जेलबाट छुट्नासाथ उनीहरू फेरि गैँडा शिकार गरेर खाग बेच्ने धन्दामा सक्रिय भएका थिए ।

जीवनस्तर उही
चितवनको कोराक भन्ने ठाउँमा सामान्य बस्ती छ । गैँडा शिकार गर्नेहरू अधिकांश त्यही बस्तीका हुन् । गैँडा शिकारी रामकुमार र बमबहादुर सहोदर दाजुभाइ हुन् ।

अर्का गैँडा शिकारी राजकुमार प्रजा पनि कोराककै हुन् । उनलाई इन्टरपोलको सहयोगमा सीआईबीले २०७१ मा मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । राजकुमारलाई चितवन जिल्ला अदालतले १५ वर्ष कैद सजाय तोकेको छ ।

राजकुमारले २८ वटा गैँडा मारेको मारेको स्वीकारेका छन् । आफ्नो हातबाट उनले २२ गोली फायर गरेका छन् । तर, जत्ति गैँडा मारे पनि उनीहरूको जीवनस्तर परिवर्तन भएको छैन ।

गैँडा शिकारबापत बमबहादुरले दुईवटा शिकारमा प्रतिगैंडा २ लाख ८० हजार लिएका छन् । अहिलेसम्ममा तस्करबाट सवैभन्दा धेरै पैसा लिने बमबहादुर मात्र हुन् । नभए सिकारीहरूले सामान्यतया ३० देखि ६० हजार रुपैयाँ मात्रै पाउने गरेका छन् ।

निकुञ्ज सुरक्षामा खटिएका सैनिकको रेकी गर्ने, खाना पकाउने, खाग काट्ने, खाग पकाउने र तस्करसम्म लैजानेहरूलाई बाँड्दा सो पैसा उनीहरूले थोरै मात्र पाउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रजाहरूले २०७० बाट गैँडा शिकार गर्न थालेका हुन् । १० वर्षअघि उनीहरूको आर्थिक अवस्था जस्तो थियो, अहिले पनि उस्तै छ । प्रजाहरूले २०७० बाट गैँडा शिकार गर्न थालेका हुन् । १० वर्षअघि उनीहरूको आर्थिक अवस्था जस्तो थियो, अहिले पनि उस्तै छ ।

प्रजाहरूसँग गैँडा शिकारमा जोडिएका छन् कुमाल र चौधरी समुदाय पनि । अशिक्षा, गरिबीको चपेटामा रहेका उनीहरूलाई प्रलोभनमा पारेर व्यावसायिक तस्करले फाइदा लिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

अन्तरर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) का अनुसार वन्यजन्तुको चोरी, शिकारी विश्वमा चौथो अवैध व्यापार हुने अपराधमा पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन–२०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन–२०७३ ले सो व्यापारलाई नियन्त्रण गर्ने गरेको छ ।

पाँचजना खुङ्खार शिकारी जेलमा
बमबहादुरका दाजुभाइ र राजकुमारबाहेक अरू दुई खुङ्खार शिकारी हुन्, वीरमानसिंह प्रजा र रणबहादुर कुमाल । ती दुवै पूर्वी नवलपरासी कारागारमा छन् । चितवन राष्ट्रिय निकुञ्जमा माउ र बच्चा गैँडा मारेको आरोपमा उनीहरू जेल परेका हुन् । वीरमानले अहिलेसम्म ४ वटा गैँडा मारेको स्वीकारेका छन् ।

वीरमानसिंह प्रजा मात्र होइन, गैँडा मारेको मुद्दामा उनका बुवा र आमा पनि कारागारमा छन् ।

कहाँ जान्छ खाग ?

चितवन राष्ट्रिय निकुञ्जमा दर्जनौँ गैँडा मारेर खाग काटिएका छ । तर, अहिलेसम्म ३ वटा खाग मात्र प्रहरीले बरामद गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट शिकार गरेको खागसहित पक्राउ परेका थिए, नोरसिंह लामा, दिदी खम्पा र नोर्बु तामाङ । उनीहरू चिनियाँ नागरिक हुन् । गोरखाको छेकम्पार हुँदै नेपाल आएका उनीहरू अहिले जेलमा छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोका अनुसार दिदी खम्पाहरूको कनेक्सन कनेक्सन गैँडा शिकारी राजकुमार प्रजासँग देखिएको छ ।
विज्ञहरूका अनुसार गैँडाको खाग एक किसिमको ‘कपालको गुजुल्टो’ मात्रै हो ।

त्यसमा मानिसको कपालमा पाइने ‘केराटिन’ भन्ने तत्त्व पाइन्छ । तर, परम्परागत औषधी बनाउनका लागि चीन, भियतनाम, भारत र थाइल्याण्डमा यसको तस्करी हुँदै आएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार खाडी मुलुकमा धनाढ्यहरूले घरमा सजाएर राख्न पनि खाग किन्छन् ।

राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा वन्यजन्तु र किसानबीच द्वन्द्व छ । द्वन्द्व व्यवस्थापन गरेर सचेतना जगाउन सकेमा गैँडा शिकार नियन्त्रण गर्न सकिने जानकारहरू बताउँछन् । अन्धविश्वासमा परेर मूल्य नभएका सालकको खपटा र गैँडाको खाग जस्ता आखेटोपहार कारोवारको प्रलोभनमा नपर्न ब्यूरोका एसपी महतो आग्रह गर्छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj