कर्मचारी बर्खास्त गर्न थालेको भन्दै एमालेको विरोध
नेकपा- एमालेले नयाँ आर्थिक वर्षको थालनीसँगै संघ, प्रदेश र स्थानीय सरकारहरूले अस्थायी, ज्यालादारी तथा करारमा कार्यरत हजारौं कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न थालेको भन्दै विरोध गरेको छ ।
एमालेका संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख किरण गुरुङले शुक्रबार जारी गरेको विज्ञप्तिमा बहालमा रहेका सबै कर्मचारीलाई नियमित रुपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।
एमाले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रिया विपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भत्र्सना गर्छ विज्ञप्तिमा भनिएको छ ।
बहालमा रहेका सबै कर्मचारीहरूलाई नियमित रुपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न नेकपा (एमाले) सरकारसँग माग गर्दछ ।एमालेले स्थायी सरकारका रुपमा रहेको निजामती प्रशासन स्वच्छ, निष्पक्ष, जनउत्तरदायी र मर्यादित हुनुपर्ने पार्टीको मान्यता रहेको पनि उल्लेख गरीएको छ ।
राज्य र जनताका बीचका सम्बन्धहरूलाई सेवा प्रवाहमार्फत सजीव राख्ने र कानूनी राज्यको प्रत्याभूति दिलाउने काम पनि यही संयन्त्रको भएको उल्लेख गर्दै एमालेले यही संयन्त्रलाई हतोत्साहित बनाउने कार्यमा सरकार लागिपरेको आरोप लगाएको छ । वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीहरूको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको छ विज्ञप्तिमा बताएको थियो।