संघ र प्रदेश निर्वाचनको मिति ताेकिदै
काठमाडौँ — सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति एक साताभित्रै तोक्ने तयारी गरेको छ ।
चुनावको तयारी र मिति घोषणाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले सत्ता साझेदार दलसँग परामर्श गरिरहेका छन् । सरकारले मितिका विषयमा निर्वाचन आयोगको परामर्श र सिफारिस लिइसकेको छ ।
आयोगका पदाधिकारीले गत असार २२ मै प्रधानमन्त्री देउवा र मन्त्रीहरूलाई भेटेर एकै चरणमा मंसिर २ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न सुझाव दिएका थिए ।
तर प्रधानमन्त्री देउवाले केही दिन तलमाथि हुन सक्ने भन्दै मंसिर ४ को प्रस्ताव गरेकामा आयोगले सहमति दिइसकेको छ । मंसिर ४ आउन अब १ सय १२ मात्रै बाँकी छ । आयोगले निर्वाचन तयारीका लागि १ सय २० दिन समय चाहिने भन्दै आएको छ ।
सरकारले मिति तोक्न ढिलाइ गरेपछि आयोगले व्यवस्थापनमा समस्या पर्ने भन्दै कुन काम सक्न कति समय लाग्ने योजनासहितको विवरण पठाएर दबाब दिएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावको मिति तोक्नेबारे छलफल भइरहेको तर टुंगो नलागेको बताए ।
‘चुनाव मंसिरमै हुन्छ, सरकारले मिति तोक्ने तयारी गरिरहेको छ तर मिति निश्चित भइसकेको छैन,’ मन्त्री कार्कीले भने । चुनावको मिति घोषणा र तयारीलाई लिएर गृहमन्त्री बालकृष्ण खाँणले सत्ता घटक दलका नेताहरूसँग अलग–अलग भेटेर परामर्श गरिरहेका छन् ।
चुनावको मिति तोक्नुअघि कर्मचारीको सरुवाबढुवा र पदस्थापनका काममा नेताहरूले चासो बढाएका छन् ।