Connect with us
Kapilvast Forest

युवतीमा हरियो चुरा र मेहदीको बढ्दो फेसन

२०७९, १६ श्रावण सोमबारमा प्रकाशित

काठमाडौँ- हरियो चुरा र मेहदी लगाउने संस्कृतिले नेपाली किशोरी, युवती होस् या वयस्क, सबैलाई छोएको छ। खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहदी लगाउँछन्। पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहदी र चुरा हिजोआज सबैजसो महिला र युवतीका लागि फेसनजस्तो भएको छ।

हरियो चुरा र मेहदीको बढ्दो फेसनले हिजोआज विशेष गरी कम उमेर समूहका महिलालाई पनि ह्वात्तै समेटेको छ। हरेक प्रकारको फेसनमा लगाउन मिल्ने भएकाले पनि कम उमेरका महिलाहरू साउन महिनाको संस्कृति हरियो चुरा र मेहदीमा आकर्षित भएका हुन्।

साउन लाग्नेबित्तिकै रातो, पहेँलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल बढ्ने गरेको पाइन्छ। न्युरोडमा मेहदी लगाउँदै गर्नुभएकी समिता बाँस्तोला भन्नुहुन्छ, “हरेक संस्कृतिमा महिला सुन्दरताको कुरा गरिएको पाइन्छ। यो सुन्दरता कसरी प्राप्त गर्ने भन्ने उपाय खोज्ने क्रममा मेहदी र चुराको पनि प्रयोग बढेको हो।

म पनि सुन्दर हुन नै हरियो चुरा मेहदीमा सजिएकी हो यो सबै मैले मेरो श्रीमान्का लागि गरेको हो, उहाँ थप्नुहुन्छ, “अहिले मेरो श्रीमान् विदेशमा हुनुहुन्छ तर उहाँको लामो आयु र सुस्वास्थ्यको कामना गदै व्रत पनि बसेकी छु।

यस्तै इन्द्रचोकमा हरियो चुरा खरिद गर्दै गर्नुभएकी सजना श्रेष्ठलाई पनि साउनको फेसनले छोएको छ। उहाँले भन्नुभयो, “सबै महिला दिदीबहिनीको हातमा चुरा र मेहदी सजिएको छ, आफ्नो हातमा नहुँदा खल्लो हुने रहेछ।

हरेक वर्ष आफ्ना साथी तथा आफन्तलाई चुरा दिनुहुने श्रेष्ठले साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका बताउँदै मैले पनि मेरो प्रेमीकाका लागि चुरा र मेहदी लगाएको बताउनुभयो। यो समयलाई किशोरी वा युवतीले आफूलाई हरियो चुरा र मेहदीमा सजाउने ‘पपुलर कल्चर’ का रूपमा परिचित भएको छ।

यस्तो छ साउने संस्कृति

पौराणिक मान्यताअनुसार साउन महिना देवताहरूका पनि देवता महादेव शङ्कर अर्थात् शिवको महिनाका रूपमा लिइन्छ। पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको हुनाले महिलाहरूले यसलाई बढी महìवका रूपमा लिने गर्छन्। साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक हरेक दृष्टिकोणले महìवपूर्ण भएकाले यस अवधिलाई विशेष रूपमा लिइन्छ।

किन लगाइन्छ त साउनमा हरियो चुरा र मेहदी

साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ। यस कारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो। चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहदी लगाउने चलन पनि छ।

हत्केलामा जति बढी गाढा मेहदीको रङ राख्यो, उति नै बढी श्रीमान्को माया पाइन्छ भन्ने धार्मिक विश्वास छ। साउनमा महिलाहरूले निकै मन पराउने मेहदी नेपालमा बन्दैन। मेहदी लगाउने परम्परा सुरु भएको भारतबाटै यहाँसम्म आइपुग्छ। त्यहाँको उत्पादनले यहाँ बजार पाएको छ। चुरा पनि धेरैजसो भारतबाटै भित्रिने गरेको व्यापारीहरू बताउँछन्।

मेहदीले स्वास्थ्यमा फाइदा पु-याउँछ । मेहदीको शीतलताले तनाव, टाउको दुःखाइ र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ। मेहदीको प्रयोग आजभन्दा सात हजार वर्षअघि नै मिश्रवासीले गरेको इतिहास छ।

उनीहरूले आफ्नो शरीरको सौन्दर्यमा चमक ल्याउन र शीतलता प्रदान गर्न प्रयोग गर्थे। नङलाई बढाउनका लागि पनि मेहदी निकै प्रभावकारी मानिन्छ तर बजारमा पाइने रसायनयुक्त मेहदीले भने यस्ता फाइदा पु-याउँदैनन्।

विभिन्न रातो, हरियो र पहेँलो चुरा होस् वा मेहदी अनि विविध प्रकारका पोते सबै भारत, पाकिस्तान, इरानलगायतका विदेशी मुलुकबाट नेपाल भित्रिने गरेकाले नेपाली परम्परा जोगाउनकै लागि ठूलो रकम विदेशिने कुरालाई रोक्न भने जरुरी छ।

त्यस्ता वस्तुको कम आयात गर्ने, सस्तो प्रकारको मात्र आयात गर्ने वा सम्भव भएसम्मको उत्पादन स्वदेशमै गर्नेतर्फ भने ध्यान दिन सकेको खण्डमा परम्परा पनि जोगिने अनि मुलुकको व्यापार घाटा कम गर्न समेत सघाउ पुग्ने देखिन्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu