Connect with us
Kapilvast Forest

अफ्रिकी स्वाइन फिवरले मरे बङ्गुर

२०७९, २० श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौँ- अफ्रिकी स्वाइन फिवर नामक सङ्क्रमणका कारण काठमाडौँसहित आठ जिल्लाका पाँच हजार बङ्गुर मरेका छन् । पशुसेवा विभागका वरिष्ठ भेटेरिनरी अधिकृत डा. मुकुल उपाध्यायले तीन महिनामा त्यति सङ्ख्यामा बङ्गुर मरेको जानकारी दिँदै सो क्षति २० करोड रुपियाँभन्दा बढी हुने जानकारी दिनुभयो ।

सन् २०१८ मा अफ्रिकी देशबाट सुरु भएको सङ्क्रमण भारत, चीन, भुटान हुँदै नेपाल आइपुगेको छ । भारतमा यो सङ्क्रमण पाँच महिनाअघि देखापरेको थियो भने गत जेठमा नेपालमा पुष्टि भएको हो ।

काठमाडौँ, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, चितवन, झापा, मोरङ र सुनसरीमा सो सङ्क्रमण देखापरेको छ । अफ्रिकी स्वाइनको सङ्क्रमण भएपछि बङ्गुर बाँच्ने सम्भावना हुँदैन भने सङ्क्रमण भएको चार दिनदेखि १९ दिनसम्ममा त्यसको मृत्यु हुने छ ।

रोग नियन्त्रणका लागि बर्डफ्लुको जस्तै किसानलाई क्षतिपूर्ति दिलाउने अवस्था नरहेको बताउँदै उहाँले यसबारे विभागले प्रदेशसँग समन्वय सुरु गरेको र सङ्घमा कसरी नीति बनाउन सकिन्छ भन्ने छलफल थालिएको जानकारी दिनुभयो ।

डा. उपाध्यायले नेपालमा बङ्गुरको सङ्ख्या १० लाख रहेको र सङ्क्रमणको जोखिम देशव्यापी रहेकाले यसबाट जोगिने उपाय अवलम्बन गर्नुबाहेक थप विकल्प नभएको स्पष्ट पार्नुभयो ।

भियतनाममा यसको खोप विकास भएको भनेर दाबी गरिए पनि पशु स्वास्थ्यका लागि विश्व सङ्गठनले स्वीकृति दिएको छैन । बङ्गुरबाट मानिसलाई नसरे पनि मानिसका कारणले यो सङ्क्रमण बङ्गुरमा सर्ने सम्भावना निकै उच्च रहन्छ ।

पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले दाना ओसारपसारका क्रममा प्रयोग भएको गाडी र मानिसले लगाएको लुगाबाट समेत सङ्क्रमण सर्ने सम्भावना निकै रहने बताउनुभयो ।

उहाँले बङ्गुरको ओसारपसार रोक्ने र बायो सेक्युरिटीका लागि चुन, फिनेलजस्ता सामग्रीको प्रयोग गर्नुबाहेक अन्य विकल्प नरहेको बताउँदै ओसारपसार गर्नुपरे बङ्गुरको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्रै ढुवानी गर्न अनुरोध गर्नु भएको थियो।

२०७८ चैतमा पहिलो पटक काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर देखापरेपछि त्यहाँबाट नमुना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकी स्वाइन फिवर रोग पुष्टि भएको थियो ।

उपत्यकामा घनाबस्ती भएकाले बङ्गुरपालन गर्न नपाउने प्रावधान गरी उपत्यकाका स्थानीय तहले मापदण्ड बनाएका छन् । बङ्गुर फार्मको बीमा हुँदासमेत कृषकले घनाबस्ती भएको उपत्यकामा बङ्गुरपालन गर्दा स्थानीय तहबाट सिफारिस पाउन सकेका छैनन् ।

रोग लागेपछि बङ्गुरलाई उपचार नभएकाले भाइरसको उपस्थिति पुष्टि भएपछि तुरुन्तै अलग्गै राख्नुपर्छ । उच्च ज्वरो, भोक नलाग्ने, सुस्त, कहिलेकाहीँ उभिन वा हिँड्न नमान्ने, उभिँदा धेरै अस्थिर हुने समस्या देखिएलगत्तै अलग्गै राख्न्ुपर्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu