सीतापुरमा गोबरग्याँस जडान गरिने
टीकापुर कैलाली- टीकापुर नगरपालिका –२ स्थित खोटेना भुराखानी सामुदायिक वनमा राखिएका सामुदायिक चौपायाको गोबरबाट दुई सय घनमिटरको गोबर ग्याँस प्लान्ट निर्माण गरिएको हो।
नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गरी गोबर ग्याँस प्लान्ट स्थापना गरिएको हो । एक करोड ६० लाखको लागतमा प्लान्ट निर्माण गरिएको हो । प्लान्टमा ३५ प्रतिशत टीकापुर नगरपालिका र ६५ प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी भएको बताइएको छ ।
गोबर ग्याँस प्लान्टबाट उत्पादन भएको ग्यास पाइपमार्फत नजिकैको सीतापुर बस्तीका ५५ घरमा पु-याएर मिटरसहित चुल्हा जडान भइसकेका छन् । स्थानीय लौटी चौधरीले गाईगोरु व्यवस्थापनले खेतीबाली पनि जोगिएको र घरघरमा ग्याँस बाल्न पनि पाइने भएको जानकारी दिनुभयो ।
गौशालामा करिब एक हजार गाईगोरु रहेका छन् । तीमध्ये तीन सय जति गाई टहरामा राखिएका छन् । टहरामा राखिएका गाई र बाच्छाबाच्छीको सफा गोबर हरेक बिहान प्लान्टमा हाल्ने गरिएको छ । प्लान्टमा हरेक दिन दस क्विन्टल गोबर हारेर मोटरको सहायताले घोलेर ट्याङ्कीमा पठाउने गरिएको हो ।
खाली ठाउँमा बस्ने चौपायाको गोबर मलका लागि थुपार्ने गरिएको गौशालाका सहयोगी डेगकुमार चौधरीले जानकारी दिनुभयो । गौशालामा आठ जना सहयोगी रहेका छन् । उनीहरूले बिहान गोबर व्यवस्थापन गर्ने र दिउँसो कर्णाली किनारका बन क्षेत्रमा गाईगोरु चराउने काम गर्दछन् ।
टीकापुर नगरपालिकाको भौतिक पूर्वाधार शाखाका इन्जिनियर नवराज जोशी केही दिनमै भारतबाट प्राविधिक ल्याएर प्लान्ट सञ्चालन गरी घरघरमा ग्यास पु-याइने बताउनुभयो । उहाँका अनुसार प्लान्टलाई व्यवस्थित गरेर सहुलियत दरमा ११० घरमा ग्यास पु-याउने लक्ष्य छ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयबाट नवप्रवर्तनात्मक कार्यक्रमबाट पानी ट्याङ्की, दाना खुवाउने डुँड, मल राख्ने दुईवटा स्टोर बनाउने योजना रहेको बताइन्छ ।
पशु विकास शाखाका प्रमुख श्यामराज पाण्डेयले गोबरग्यास प्लान्टबाट उत्पादित ग्यास नजिकैका स्थानीयलाई वितरण गर्ने र प्राङ्गारिक मललाई बिक्री गर्ने, गाईको नश्ल सुधार गरी दूध र बहर बिक्री वितरण गर्ने योजना रहेको बताए ।
२०७६÷७७ सालमा निर्माण सुरु भएको गोबरग्यास प्लान्ट निर्माण आयोजनाको मुख्य काम एक वर्षअघि नै सम्पन्न भई घरघरमा पाइप, मिटर, चुल्हा जडान भइसकेको छ । यद्यपि २०७८ कात्तिक २ मा आएको बाढीले रानी कुलाहुँदै बनाइएको ग्यासको पाइपलाइन बगाइदिएको र अन्य सासाना काम बाँकी हुँदा ग्याँस वितरण कार्यमा ढिलाइ भइरहेको प्राविधिकको भन्नुभयो।