एकीकृत समाजवादीलाई शक्ति कायम राख्ने चुनौती
काठमाडौँ — एमालेबाट अलग भई माधव नेपालले आफ्नै नेतृत्वमा एकीकृत समाजवादी गठन गरेको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिमा विद्रोहको राजनीतिक र संगठनात्मक दुवै रूपमा पुष्टि भएको दाबी नेताहरूले गरे पनि आसन्न निर्वाचनमा संसदीय शक्ति बचाइराख्ने मुख्य चुनौती सामुन्ने छ ।
एकीकृत समाजवादीले ०७८ भदौ ९ मा निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र लिएको थियो । सोही आधारमा उसले बिहीबार ‘पार्टी पुनर्गठन दिवस’ मनाएको छ । कार्यक्रममा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले पार्टी गठनको एक वर्ष उपलब्धिमूलक रहेको बताएका छन् । ‘हाम्रो पार्टीले एक वर्षमा प्राप्त गर्ने उपलब्धि अझ धेरै हुन सक्थ्यो होला तर जति प्राप्त गरेका छौं, त्यसमा गौरवबोध गर्नुपर्छ,’ अध्यक्ष नेपालले भने, ‘निराश हुनुपर्ने आवश्यकता छैन ।’
वरिष्ठ नेता खनालले यस अवधिमा पार्टीलाई जनताको बीचमा लैजान सफल भएको दाबी गरे । ‘हामीले दक्षिणपन्थी अवसरवादी र नेतृत्वविरुद्ध विद्रोह गर्ने आँट गर्यौं, त्यो एउटा महत्त्वपूर्ण पहलकदमी थियो, एक वर्षको अवधिमा पार्टी निर्माण, विकास र विस्तार प्रक्रियामा जनताबीच जाने कुरामा क्रमशः प्रगति गर्दै आएका छौँ,’ खनालले भने, ‘जनताको तल्लो पंक्तिमा पार्टी विस्तार गर्दै छौँ । नवयुवाको पंक्ति पार्टीमा प्रवेश गरिरहेको छ । अन्य राजनीतिक दल परित्याग गरेर हाम्रो पार्टीमा एकताबद्ध हुने क्रम जारी छ ।’
संसद्मा चौथो शक्तिका रूपमा रहेको एकीकृत समाजवादीसँग प्रतिनिधिसभामा २३ सांसद छन् । त्यसमध्ये १३ प्रत्यक्षतर्फका र बाँकी समानुपातिक सांसद हुन् । राष्ट्रिय सभामा एक स्वतन्त्र हैसियतका सहित ९ सांसद छन् । स्वतन्त्रको हैसियतमा कलम चिह्नबाट लडेका खिमलाल देवकोटा वाग्मतीबाट निर्वाचित हुन् । गण्डकीबाहेक सबै प्रदेशमा एकीकृत समाजवादीका सांसद छन् । प्रदेश १ मा १०, मधेसमा १३, वाग्मतीमा १३, लुम्बिनीमा १, कर्णालीमा ३ र सुदूरपश्चिममा १४ गरी प्रदेशतर्फ एकीकृत समाजवादीका ५४ सांसद छन् । सुदूरपश्चिममा एकीकृत समाजवादी ठूलो दल हो भने मधेस प्रदेशमा एमालेभन्दा ठूलो छ ।
एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अहिलेकै संसदीय शक्ति बचाइराख्ने पार्टीको मुख्य चुनौती हो । ती पदाधिकारीका अनुसार एक वर्षको अवधिमा राजनीतिक रूपमा पार्टीका एजेन्डा स्थापित भए पनि संसदीय शक्ति कायम राख्ने अबको चुनौती छ । ‘स्थानीय निर्वाचनमा हामीले सम्मानजनक उपस्थिति गराएका छौँ, आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन हाम्रो लागि परीक्षा र चुनौती हो, यहाँ पास भएपछि स्थापित राजनीतिक शक्ति बन्ने बाटो खुल्छ,’ ती पदाधिकारीले भने, ‘हाम्रो ध्यान अबको निर्वाचनमा पार्टीलाई स्थापित गर्नेमा हुन्छ र त्यहीअनुसारको रणनीति पनि बनाउँछौँ ।’
अध्यक्ष नेपालले पनि स्थानीय तहको मतलाई आधार मान्दा आगामी निर्वाचनमा एकीकृत समाजवादीले आफ्नो हैसियत देखाउन सक्ने दाबी गरे । ‘स्थानीय निर्वाचनमा २७ प्रतिशत उम्मेदवार खडा गर्दा ९ लाख २७ हजार मत प्राप्त गरेका छौं, सबै ठाउँमा उम्मेदवार उठाएको भए १५ देखि २० लाखसम्म मत पाउन सक्थ्यौं, यति मत पाउँदा १५ देखि २० सिटलाई कसैले रोक्न सक्दैन,’ नेपालको दाबी छ, ‘आउने चुनावको सन्दर्भमा समानुपातिक मतका आधारमा पनि हाम्रो पार्टीले आफ्नो हैसियत देखाउन सक्छ ।’
निर्वाचन आयोगका अनुसार एकीकृत समाजवादीले स्थानीय निर्वाचनमा वडातर्फ ४ लाख २२ हजार मत ल्याएको छ । उसले नगर प्रमुखतर्फ ३ लाख १८ हजार र गाउँपालिका अध्यक्षतर्फ १ लाख ४० हजार मत पाएको छ । एक महानगरपालिका प्रमुख, एक उपमहानगरपालिका प्रमुख, १० नगरपालिका प्रमुख, आठ गाउँपालिका अध्यक्ष, १ सय ९० वडाध्यक्षसहित एकीकृत समाजवादीले स्थानीय तहमा ९ सय ८६ स्थानमा जित निकालेको थियो ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको मुख्य उपलब्धि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा ल्याउनु भएको बताए । ‘हाम्रो पार्टीले तत्कालीन प्रधानमन्त्री ओलीलाई सडक ल्याउन सफल भयो, देश र जनताको आवश्यकतामा गठबन्धन सरकार बन्यो, जसले प्राप्त उपलब्धिको रक्षा गर्न सफल भयो,’ उनले भने, ‘यसलाई हामीले ठूलो सफलता र उपलब्धि ठानेका छौँ ।’
एक वर्षको अवधिमा एकीकृत समाजवादीमा २ लाख जना विभिन्न कमिटीमा संगठित भएको र ५ लाखभन्दा बढी संगठित सदस्यहरूको रेकर्ड अद्यावधिक भइसकेको दाबी खतिवडाको छ । यसबाहेक एकीकृत समाजवादीले आसन्न निर्वाचनका चुनौती सामना गर्न गठबन्धन, माओवादीसँग एकता, साना दलसँग एकता र एमालेका नेता–कार्यकर्तालाई भित्र्याउने रणनीति बनाएको छ । गठबन्धनको रणनीति एकीकृत समाजवादीका लागि अनूकल बन्दै छ । ११ सदस्यीय कार्यदलमा एकीकृत समाजवादीबाट दुई सदस्य छन् ।
पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटबारे संवाद जारी छ । ०७४ को संघीय निर्वाचन नलडेका कारण एकीकृत समाजवादीका लागि छुट्टै मापदण्ड बनाउन गठबन्धन दलका नेताहरू सहमत छन् । एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ कम्तीमा २५ सिटमा दाबी गरेको छ ।
अर्कोतर्फ एकीकृत समाजवादीले माओवादीसँग एकताको गृहकार्य गरेको छ । दुवै पार्टीका शीर्ष नेताबीच निर्वाचनपछि एकता गर्ने गरी तत्कालका लागि १० सदस्यीय संयोजन समिति बनाउने सहमति बनेको छ । दुवै पार्टी साझा घोषणापत्रमा चुनाव लड्न तयार भएका छन् । दुवैले छुट्टाछुट्टै घोषणापत्र मस्यौदा समिति गठन गरिसकेका छन् ।
यसबीचमा एकीकृत समाजवादीले नेकपा (जनवादी), राष्ट्रिय जागरण परिषद्, नेकपा (गौरवशाली), एकीकृत नेकपा र बहिर्गमित जनमुक्ति सेना आफ्नो पार्टीमा समाहित भएको बताएको छ । तर, एकीकृत समाजवादीका कैयौं नेता–कार्यकर्ता पुरानै घर एमालेमा पनि फर्केका छन् ।