Connect with us
Kapilvast Forest

नेपालको ७० जिल्लामा फैलियो डेंगु

२०७९, १३ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं उपत्यकामा डेंगु संक्रमित बढेसँगै अस्पतालमा शय्या (बेड) अभाव हुन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्ष डेंगु संक्रमितले भरिएको छ ।

आकस्मिक कक्षको सबै बेड भरिएपछि बिरामीलाई कुर्सीमा समेत राखेर उपचार गरिएको छ । एक हप्तायता डेंगुका बिरामीले बेड भरिन थालेको अस्पतालका आकस्मिक कक्षका प्रमुख लीलानाथ भण्डारीले बताए । ‘डेंगुका बिरामीले बेड भरिएपछि कुर्सीमा समेत राखेर उपचार गराइरहेका छौं’, भण्डारीले भने, ‘बेडको अभाव हुन थालेपछि घरमै आराम गर्न सक्नेलाई सल्लाह–सुझाव दिएर पठाएका छौं ।’

डेंगुको लक्षण लिएर आएका बिरामीको चाप बढ्सँगै अस्पतालले सोमबारदेखि डेंगु क्लिनिक सञ्चालनमा ल्याएको छ । टेकु अस्पतालको आकस्मिक कक्षमा शुक्रबार ६८, शनिबार ८५, आइतबार ८० जना बिरामीको उपचार गरिएको थियो । त्यसैगरी, सोमबार २ बजेसम्म ५० जनाभन्दा बढी बिरामीले आकस्मिक कक्षमा उपचार गराएका छन् ।

‘हामीसँग थोरै बेड छन् । डेंगुका गम्भीर प्रकृतिका बिरामीलाई मात्रै जनरल वार्डमा भर्ना गरेर राख्छौं’, आकस्मिक कक्षका प्रमुख भण्डारीले भने, ‘आकस्मिक कक्षको चाप घटाउनका लागि छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याएका हौं ।’

अस्पताल प्रशासनको तथ्यांक अनुसार हाल ४ जनाको आईसीयूमा उपचार भइरहेको छ । टेकुमा मात्रै होइन, उपत्यकाको अधिंकाश अस्पतालमा डेंगु संक्रमितको चाप बढ्दो क्रममा छ । काठमाडौंको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको पर्किङस्थलमा टेन्ट लगाएर बिरामीको उपचार र परीक्षण भइरहेको छ ।

दैनिक सय जना भन्दा बढी डेंगुको आशंकामा परीक्षणका लागि आउने गरेको टेकु अस्पतालका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले बताए । ‘डेंगुको आशंकामा आएका ८० प्रतिशतभन्दा बढीलाई डेंगु पुष्टि भएको छ । अस्पतालमा भर्नाको चाप कम गर्न बिहान १० देखि २ बजेसम्म डेंगु क्निकल सञ्चालनमा ल्याएका हौं’, डा. पुनले भने ।

उनका अनुसार काठमाडौंको टेकु, त्रिपुरेश्वर, कंलकी, बल्खु, बसन्तपुर, शंखमुल, नयाँ बानेश्वरलगायतका क्षेत्रबाट आउने बिरामी बढी छन् ।

‘डेंगु अप्रत्यासित रूपमा बढिरहेको छ । बिरामीको चाप बढेको देख्दा बेड पाउन मुश्किल हुने देखिएको छ’, डा. पुनले भने, ‘सकेसम्म गम्भीर प्रकृतिका बिरामीलाई मात्रै भर्ना गरेका छौं ।’

७० जिल्ला फैलियो, ललितपुरमा धेरै

डेंगु हाल ७० जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार गत वर्षको १५ पुसदेखि १२ भदौसम्म २ हजार ५३९ जना डेंगु संक्रमित भएका छन् । विशेषगरी बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा संक्रमण बढिरहेको इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताए ।

महाशाखाको तथ्यांक अनुसार हाल सबैभन्दा धेरै ललितपुरमा ८५८, रुपन्देहीमा ३६३, काठमाडैंमा ३३२ केस देखिएका छन् । त्यसैगरी, बढी केस देखिनेमा धादिङ, तेह्रथुम, सिन्धुली, भक्तपुर, संखुवासभा, अर्घाखाँची र गुल्मीमा ७० जना हाराहामारीमा संक्रमण पुष्टि भएको छ । ‘साउन अन्तिम सातादेखि डेंगु संक्रमितको केसहरु बढिरहेका छन् । यो क्रम अझै बढ्दै जाने देखिन्छ’, दाहालले भने ।

डेंगु नियन्त्रणका लागि अति प्रभावित १४९ वटा स्थानीय तहमा बजेट छुट्याइएको महाशाखाले जनाएको छ । डेंगु नियन्त्रणका लागि स्थानीय तहका स्वास्थ्य संयोजक तथा जिल्ला तथा प्रदेशका उच्च अधिकारीसँग समन्वयमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन सुरू भइसकेको दाहालले जानकारी दिए ।

चिकित्सकको सुझाव : एन्टिबायोटिक, पेनकिलर नलिनू

ज्वरो आउँदा एन्टिबायोटिक खाएर ठीक नभएपछि डेंगुको आशंकामा टेकु अस्पताल आउने बिरामी सयौंको संख्यामा छन् । देशभर डेंगुले महामारीको रूप लिइरहँदा उपचारमा स्वास्थ्यकर्मीसमेत अलमलमा परिरहेका छन् । दुखाइ कम गर्नका लागि फ्लेक्सन नामको औषधिको जथाभावी प्रयोग भइरहेको डा. पुन बताउँछन् ।

‘डेंगु संक्रमितले एन्टिबोयोटिक खानुपर्दैन, तर धेरै क्लिनिक तथा मेडिकलमा परीक्षण गराएका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी तथा फार्मेसी सञ्चालक स्वयंले पनि एन्टिबोयोटिक, पेनकिलरजस्ता अनाश्वयक औषधि सेवन गर्न सुझाव दिइरहेको पाइएको छ’, डा.पुनले भने, ‘अस्पताल आएकामध्ये १५ प्रतिशतभन्दा बढीले फ्लेक्सन सेवन गरेर आएका छन् ।’

डा. पुनका अनुसार डेंगु बिरामीलाई जथाभावी एन्टिबायोटिक, पेनकिलर तथा फ्लेक्सन रक्तश्राव गराउने सम्भावना अत्याधिक हुन्छ । ‘यस्ता औषधिको सेवन गर्दा तत्काल ज्वरो घट्छ र निको हुँदै गयो भन्ने सोचिन्छ । तर, यसको ठीक विपरीत घटेको २४ देखि ४८ घण्टामा संक्रमित जटिल अवस्था जान सक्छन’, डा. पुनले भने ।

‘सामान्यतया डेंगु भएका बिरामीलाई प्रशस्त पानी पिएर आराम गर्दा सामान्य पारासिटामोलको सेवनले नै रोग ठीक हुन्छ । पेनकिलर, फ्लेक्सनको सेवन गर्दा आन्द्रा सुन्निने, रगतमा प्लेटलेट कम भएका बेला रगत बग्न सक्नेजस्ता जोखिम निम्तिन सक्छ’, डा. पुन थप्छन् ।’

चिकित्सका अनुसार एन्टिबायोटिक्स चलाउने विभिन्न आधार हुन्छन्–७ दिनभन्दा बढी ज्वरो आएको, सोडियम घटेर गएको, मिर्गौला तथा कलेजो बिग्रदै गएको वा लक्षण जटिल खालको देखिएको अवस्थामा मात्रै एन्टिबायोटिक चलाउन सकिन्छ ।

धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा डेंगु जटिल अवस्थामा जान सक्छ । निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेटको संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रुपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu