Connect with us
Kapilvast Forest

कहाँ गए सन्दीप लामिछाने?

२०७९, २९ भाद्र बुधबारमा प्रकाशित


युनिक श्रेष्ठ
,काठमाडौं
– १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको छ।

गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। पुर्जी जारी गर्नेबित्तिकै प्रहरीले लामिछानेलाई जहाँ भेट्यो त्यही पक्राउ गर्न सकिने बताएको थियो।

सात दिन बितिसक्दा पनि लामिछाने पक्राउ परेका छैनन्। उनी अहिलेसम्म पनि पक्राउ नपरेपछि उनी कहाँ गए भन्ने चासो व्यक्त भइरहेको छ। सामाजिक सञ्जालमा उनी भागिसकेका त होइनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ।

invotech
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए। भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पुर्‍याएर पटक-पटक बलात्कार गरेको आरोप उनीमाथि छ।

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

उक्त लिग भइरहँदा यता काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो।

softwaricanic
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले यस घटनाको अनुसन्धान भइरहेको बताए। उनले सन्दीप लामिछाने प्रहरीको सम्पर्कमा पनि नरहेको बताए।

‘उनी हाम्रो सम्पर्कमा छैनन्। हामी पर्खेर बस्दैनौं,’ बोहराले बुधबार सेतोपाटीसँग भने, ‘हाम्रा आफ्नै प्रक्रियाहरू छन्, त्यसमा लाग्छौं।’

प्रहरीले सन्दीप लामिछाने नेपाल नफर्किएमा औपचारिक/अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताउँदै आएको छ।

इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने तयारी भएको हो त भन्ने प्रश्नमा एसएसपी बोहराले थप बताउन चाहेनन्।

‘अहिले नै यसो गर्दैछौं भनेर हामी भन्दैनौं। काम भइसकेपछि मात्रै भन्न सकिन्छ,’ उनले भने।

पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले सन्दीप लामिछानेलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार समेत गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा समेत राखिएको छ।

उनी कहिले र कसरी फर्किन्छन् भन्नेबारे प्रहरीलाई कुनै सूचना छैन।

वेष्ट इन्डिजबाट फर्केर उनी दुबईमा आइपुगेको हुनसक्ने प्रहरीको अनुमान छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार लामिछाने केही दिनअघि नै नेपाल आउन लागेका थिए। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द समेत गरेको स्रोतले बताएको छ।

‘फ्लाइट बुक गरेको त रहेछ। पछि किन हो रद्द गरे। पछाडिको मितिमा सारेको देखिन्छ,’ स्रोतले भन्यो।

यसरी लामो समयसम्म विदेशमा रहँदा उनी पीडितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ। अहिले पीडितलाई अभिभावककै जिम्मामा छाडिएको छ।

अभिभावकको जिम्मामा भए पनि उनी प्रहरीकै सम्पर्कमा भएको एसएसपी बोहराले बताए।

लामिछाने नेपाल क्रिकेट संघ (क्यान)को पनि सम्पर्कमा छैनन्। उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्‍लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

त्यसको भोलिपल्ट गत शुक्रबार सन्दीपले सामाजिक सञ्जालमार्फत् घटनाको विषयमा बोलेका थिए। उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका थिए।

त्यसका लागि आफू केही दिनमै नेपाल फर्किने बताएका थिए।

उनले आफूले क्यारेबियन प्रिमियर लिग टिम जमैका छाडेको पनि बताएका थिए। इएसपिएन क्रिकइन्फोले भने सन्दीपलाई टिमबाट निकालेको उल्लेख गरेको थियो। साथै तत्काल नेपाल फर्काउने सिपिएलले बताएको थियो।

त्यसयता भने सन्दीप क्यानको सम्पर्कमा नभएको एक पदाधिकारीले बताए।

‘सन्दीपले हामीसँग कुरा गरेका छैनन् र कहिले आउनेबारे पनि खुलाउन चाहेका छैनन्,’ उनले भने।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। निलम्बनको कारबाही गरे पनि क्यानले सन्दीपले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर अर्कै होटलमा बसेको बारे छानबिन गर्ने बताएको छ।

छानबिन कहिले र कसरी गर्ने विषय क्यानमा कुनै छलफल भने अघि बढेको छैन।

घटना भएपछि प्रहरीले प्रमाण संकलन गर्ने काम पनि गरेको परिसरले जनाएको छ। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण समेत गराएको थियो।

यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।

त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू भदौ ५ गते राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको परिसरले जानकारी दिएको छ।

सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।

त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।

यस घटनाको अनुसन्धान प्रहरी वृत्त गौशालाले गरिरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu