सेनाले ब्युँतायो आठ पृतनाको संरचना
नेपाली सेनाले एक वर्षअघि सुरू गरेको तीन जोड एक अर्थात थ्री प्लस वान अवधारणाको संरचनाको सट्टा पुरानो पृतनालाई पुनः व्युँताउने भएको छ।
भदौं २१ गते बसेको मन्त्रिपरिषद बैठकले पृतना संरचनालाई व्युँउताउने निर्णय गरेको हो। नेपाली सेनाले २०७८ साउन १ देखि ‘थ्री प्लस वान’ कमान्ड कार्यान्वयनलाई अघि बढाएको थियो । सेनाले ५ वर्ष अर्थात् २०८३ सम्ममा नयाँ संरचना लागू गर्ने गरी सरकारबाट स्वीकृत गराएको थियो।
नेपाली सेनाले ८ पृतना रहेको पुरानो संरचना दशैं अघिनै व्युँताउने तयारी गरेको सैनिक प्रवक्ता नारायण सिलवालले बताए। ‘थ्री प्लस वान’ कमान्ड पनि यथावतै राख्ने तर अहिले कार्यान्वयनमा भने नहुने बताए।
softwaricanic
एक वर्षको पृष्ठपोषण, त्यो लागू गर्दा लाग्ने आर्थिक व्ययभार व्यवहारिक कठिनाई र देशको संरचना अनुसार नभएकाले पृतनाकै संरचनामा जान लागिएको उनले बताए।
अब पुरानै संरचनाअनुसार सेनामा पूर्वी, मध्यपूर्वी, मध्य, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम पृतना हुनेछन्।
देश संघीय संरचनामा गएपछि प्रदेशलाई मध्यनजर गर्दै सेनाले पृतना संख्या बढाएको थियो। ७ प्रदेश र उपत्यका गरी सेनामा ८ वटा पृतना कायम गरिएको थियो। तर २०७८ असार २४ मन्त्रिपरिषद्ले सबै पृतनालाई हटाएर कमान्ड संरचनामा लगेको थियो।