कपिलवस्तु घटनाको १५ बर्ष पुरा, पीडित भन्छन् “न्यायको पर्खाइमा छौँ “
सनिउल्ला धोबी,कपिलवस्तु-
कपिलवस्तु घटनाको १५ वर्ष पुरा भएको छ । १५ बर्ष विति सक्दा पनि घटनाबाट पीडित वनेका सर्वसाधारण तथा उद्योगी व्यवसायीहरुले अझै सम्म न्याय पाउन सकेका छैनन् । १५ वर्षअघि भएको हिंसात्मक घटनाका पीडितहरू आजको दिन (भदौ ३०) लाई कुनै पनि कार्यक्रम समेत गरेका छैन्न । पिडितले अहिलेसम्म सरकारले दिने क्षतिपूर्तिको प्रतीक्षामा बसिरहेका छन् ।
२०६४ साल भदौ ३० गते अज्ञात समूहको गोली प्रहारबाट कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका स्थानीय नेता तथा
समाजसेवी अब्दुल मोइद खाँको मृत्यु भएको थियो । खानको मृत्युपछि जिल्लाको चन्द्रौटा लगायतका क्षेत्रमा हिंसा भड्किँदा १४ जनाको हत्या हुनुका साथै १० हजार बढी मानिस विस्थापित भएका थिए ।
उक्त घटनामा सात सय बढी पसल, घर टहरामा लुटपाट र आगजनी भएको थियो भने तीन सय बढी सवारी साधनमा आगजनी गरिएको थियो । झण्डै एक सातासम्म चलेको उक्त हिंसामा जिल्लाका चन्द्रौटा, कृष्णनगर, गणेशपुर, बिसनपुर, चनई, पत्थरदेइया, त्रिपाल नगर लगायतका स्थानमा हत्या, बलात्कारका घटना संगै तीन हजार बढी घरटहरामा आगजनी भएको थियो ।
कपिलवस्तुका घटनाका बारेका छानविन गर्न तत्कालिन सरकारले पुनरावेदन अदालत राजविराजका तत्कालिन न्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा छानविन आयोग गठन गरेको थियो ।
कपिलवस्तु घटनाको सत्य तथ्य छानविन गर्न सरकारी स्तरबाट गठन भएको मल्लिक आयोगले करिव १ करोड खर्च गरी तीन महिना समय लगाएर सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर विडम्वना मल्लिक आयोगले बुझाएको प्रतिवेदन पुर्णरुपमा अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।
आयोगले सवारी साधनबाहेक करिब ४ करोड बढी क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनलाई आधार मान्दै घटनाका ३ हजार बढी पीडितले क्षतिपूर्ति माग गर्दै आएका छन् । तर घटनाका पीडितले हालसम्म राहत र उचित न्याय पाउन सकेका छैनन् भने खाँको हत्यारा समेत पत्ता लाग्न सकेको छैन ।
घटनाका पीडितहरुले संघर्ष समिति नै वनाएर उचित क्षतिपुर्ती र न्यायका लागि विभिन्न चरणका आन्दोलन गरे । उनीहरुले मल्लिक आयोगको प्रतिबेदन कार्यान्वयन गर्न माग गरे । कहि कतैबाट माग सम्बोधन र सुनुवाई नभएपछि संघर्ष समितिले २०६९ साल वैशाख ५ गते सर्वोच्च अदालतमा मल्लिक आयोगले सरकारलाई बुझाएको प्रतिवेदन
बमोजिम कारवाही तथा क्षतिपूर्तिको माग सहित रिट दायर गरे । पीडितहरुको रिटलाई अग्र स्थान दिदै न्यायाधीश ताहिर अलि अन्सारीको एकल इजलासले मल्लिक आयोगको प्रतिबेदन कार्यान्वयन गर्न आदेश गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।
घटना पछिका हरेक वर्षहरुमा घटना पिडितहरुले भदौ ३० गतेलाई कालो दिन र स्मरण दिनको रुपमा सम्झाना गर्दै आए पनि यो बर्ष केही कार्यक्रम अयोजना हुन सकेन ।
कपिलवस्तु संघर्ष समितिका अध्यक्ष महादेव पोखरेलले कपिलवस्तु घटनालाई वेवास्ता गरेर सरकारले पीडितका कुरा नसुनेको गुनासो गर्नुभयो । कपिलवस्तु घटनाको स्मरण गर्दै अध्यक्ष महादेव पोखरेलले भन्नुभयो “हामी पिडितहरु न्यायको पर्खाइमा छौ ।”
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडाले ०६४ भदौ ३० गते जस्तो त्रासदी फेरि कहिल्लै भोग्न नपरोस् भन्ने कामना गर्दै पीडितलाई उचित क्षतिपुर्ती र न्याय दिन सरकारसंग माग गर्नुभयो ।
न्याय र क्षतिपुर्ती दिनु राज्यको दायित्व हो भन्दै राज्यले उचित क्षतिपुर्ती दिनु पर्ने खतिवडाले बताउनु भयो । विवाह भएको एक महिना नबित्दै सोही घटनामा आफ्ना श्रीमान् गुमाउनु भएको बिसनपुर ३ की अमृता सुनारले घटनाका आरोपितलाई सरकारले अझैसम्म पक्राउ गर्न नसक्नु दःखद् भएको बताउनुभयो ।
आफ्नो आँखाअघि नै श्रीमानको हत्या गर्ने अपराधीलाई कारबाही गर्नुको सट्टा यत्तिकै छाडिएको उहाले गुनासो गर्नुभयो । उहाँले आयोगको प्रतिवेदन
सार्वजनिक गर्न पनि माग गर्नुभयो ।
पीडितहरुले मल्लिक आयोगको छानबिन प्रतिवेदनअनुसार क्षतिपूर्तिको माग गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढकाउदै आएका छन् । सर्वोच्च अदालतमा १४ वर्षअगाडि रिट दायर गरेको भए पनि रिटको अझैसम्म सुनुवाई भएको छैन ।
घटना भएको १५ बर्ष विते पनि अहिले यहाँको समुदाय मिलेर बसेको छ । यहाँ बसाई सराई गरेर आउनेको चाप बढेको छ । चन्द्रौटामा २० भन्दा बढी बैकंहरु खुलेका छन । चन्द्रौटा सुरक्षाको दृष्टीकोणले पनि अति सुरक्षित मानिन्छ ।