Connect with us
Kapilvast Forest

वन छोडेर सहरी संस्कृतिमा राउटे

२०७९, ७ आश्विन शुक्रबारमा प्रकाशित

सुर्खेत-फिरन्ते जाति राउटे ‘पैसा छोए पाप लाग्छ’ भन्ने मान्यता राख्थे। आफूलाई वनका राजा ठान्ने राउटे यतिबेला चाहिँ तस्बिर खिचेको समेत पैसा माग्छन्। राउटे बस्ती पुग्ने जोकोहीसँग राउटे बालबालिका र महिला पैसा माग्छन्।

घरायसी प्रयोगका सामग्रीहरू कोसी, मदुस, पिर्का, बाकस बनाएर बेच्ने पेसा गर्दै आएका राउटे समुदाय परम्परागत पेसाबाट विस्थापित बन्दै परनिर्भरतातिर गइरहेका छन्। सरकारी तथा विभिन्न संस्थामार्फत आर्थिक सहयोग पाउन थालेका उनीहरूले घरायसी प्रयोगका सामग्री बनाउन प्रायः छाडिसकेका छन्।

राउटे समुदायलाई सहयोग गर्न भित्रिएका गैरसकारी संस्थाले नै परनिर्भरतातिर राउटेलाई धकेलेको स्थानीयको आरोप छ। राउटे समुदायसँग हेलमेल बढाउन गैरसरकारी संस्थाका प्रतिनिधिले मद्यपान र धूमपानको लतमा पु-याएको आरोप लाग्ने गरेको छ। राउटे समुदायका वीरबहादुर शाहीले भन्नुभयो, “खसी र चामल पाएमा हुरुक्क हुने र अरूले दिएको खानेकुरालाई उपहार ठान्ने यो समुदाय पछिल्लो पटक मद्यपान, धूमपानको कुलतमा फस्न थालेको छ।”

उहाँले भन्नुभयो, “सुरुमा रमाइलो लागेर गाउँलेले दिएको रक्सी पियौँ। आजभोलि पिउने बानी नै परिसकेको छ। रक्सी त रमाइलो गर्न खाने हो।”

राउटेका पूर्वमुखिया महिनबहादुर शाहीका अनुसार कसैलाई फोटो खिच्न नदिने, सित्तैँमा अरूले दिएको खाने कुरा नखाने, बस्तीमा नचिनेको मान्छेलाई प्रवेश गर्नमा रोक लगाउने संस्कृति राउटे समुदायमा थियो। अहिले मद्यपान र धूमपानका कारण खुकुलो भई परम्परा ओझेलमा पर्दै गएको दुःखेसो महिनबहादुर शाहीको थियो।

उहाँले भन्नुभयो, “हामी गाउँका अन्य मानिसजस्तो रक्सी खाएर झगडा गर्दैनौँ, रक्सी पनि बनाउँदैनौं। बरु गाउँबाट नै किनेर खान्छाै।” उहाँका अनुसार रक्सी सेवन गरी झगडा गर्ने व्यक्तिलाई राउटे समुदायका अन्य युवा मिली हातखुट्टा डोरीले बाँधेर लडाइदिने चलन छ।

जङ्गलमा बाँदर सिकार गर्ने राउटे समुदायले अन्नको जाँड बनाउने गर्दछन्। तर उनीहरूमा रक्सी पार्ने सीप छैन। रक्सी पार्ने काम गरेमा देवीदेवता रिसाएर सिकार बिग्रिने, मानिस बिरामी पर्नेजस्ता विश्वास राख्ने उनीहरूमा छ। यद्यपि उनीहरूका यस्ता मान्यता विस्तारै भत्कँदै छन्। बिस्तारै उनीहरूमा खुला समाजको प्रभाव पर्दै गएको छ। बजार नजिकै बसेर बजारको संस्कृति र प्रभावमा रमाउन थालेका छन्। यद्यपि उनीहरू पहिला पहिला मानव बस्तीभन्दा टाढा जङ्गल या नदी किनारमा बस्ने गर्दथे।

मुखिया सूर्यनारायण शाहीका अनुसार नेपाल सरकारले लोपोन्मुख जातिलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता पाउनासाथ राउटेले मदिरा पिउन थालेका हुन्। आजकालका तन्नेरी जति भने पनि मान्दैनन्। पैसा पाउनासाथ रक्सी खोजी गर्छन्। पिउन गइहाल्छन्।

जनसङ्ख्या वृद्धि, वन फँडानी र सामुदायिक वनका कारण राउटेको पेसा नै सङ्कटमा पर्न थालेको अवस्था छ। लोपुन्मुख जाति र कर्णालीका गहनाका रूपमा चिनिने यो समुदायका महिला पनि आधुनिकतासँगै सहरका होटलमा खाना खान रुचाउँछन्।

राउटेलाई दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता मासिक दुई हजार रुपियाँका दरले रकम उपलब्ध गराउँदै आएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा राउटेलगायत लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि आयआर्जन कार्यक्रम (राहत तथा पुनस्र्थापना, क्षतिपूर्ति) का लागि चार करोड रुपियाँ विनियोजन गरेको सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभयो।

राउटे भाषा, संस्कृति, जीविकोपार्जन गर्न सीप हराउँदै जानु, बर्सेनि जनसङ्ख्या घट्दो क्रममा रहनु, मृत्युदर उच्च तथा कुपोषणको समस्या राउटे समुदायमा छ। बाह्य समुदायबाट हिंसा तथा यौन हिंसाको चपेटामा पर्नु, सामाजिक सुरक्षा भत्ताको दुरुपयोग बढ्नु, दाताले मनलाग्दी आफूखुसी राहत सामग्री वितरण गर्नुजस्ता कारण यो समुदायको सुरक्षामा चुनौती थपिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu