Connect with us
Kapilvast Forest

गोरखामा ९९ वर्षीय उम्मेदवार

२०७९, २६ आश्विन बुधबारमा प्रकाशित

गोरखा — गत आइतबार मनोनयन दर्ताका लागि अपराह्न ४ बजे गोरखा क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा एक वृद्ध आइपुगे । उमेरले ९९ वर्ष टेकिसकेका उनी थिए, सिरानचोक गाउँपालिका–४ छोप्राकको माझगाउँबेसीका टीकादत्त पोखरेल । नेपाली कांग्रेस बीपीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उनले उम्मेदवारी दर्ता गरे । उनको प्रतिस्पर्धा माओवादी अध्यक्ष ६८ वर्षीय पुष्पकमल दाहाल, एमालेका २८ वर्षीय अब्दुस मियाँलगायतसँग हुने भएको छ ।

विसं. १९८० कात्तिक १५ मा जन्मेका टीकादत्तका निम्ति राजनीति नयाँ होइन । निरन्तर सक्रिय भएनन्, चासो राख्न पनि छाडेनन् । अझै पनि जनताले चाहेको जस्तो व्यवस्थामा राजनीतिक प्रणाली विकसित नभएको भन्दै उनी असन्तुष्टि पोख्छन् । उनी २००७ सालको क्रान्तिमा नेपाली कांग्रेसले गठन गरेको मुक्ति सेनामा संलग्न थिए । परिवर्तनका लागि भएका विभिन्न चरणको आन्दोलनमा ६ वर्ष जेल परेका उनी आफूले उम्मेदवारी दिनुको कारण सुनाउँदै भन्छन्, ‘क्रान्ति गरियो, आन्दोलन गरियो अवस्था परिवर्तन भएन, उपलब्धि भएन । यत्रो आन्दोलनपछि पनि केही उपलब्धि नभएपछि अन्याय सहन नसकेर उम्मेदवारी दिएको हुँ ।’

२०४७ पछि तत्कालीन नेता कृष्णप्रसाद भट्टराईले राष्ट्रिय सभामा जान गरेको प्रस्ताव अस्वीकार गरेका टीकादत्तले कहिल्यै राजनीतिक लाभका पदको आशक्ति राखेनन् । उनले त्यसको कारण बताउँदै भने, ‘जनताले खानलाउन पाएका छैनन्, हामीले पद लिने बेला भएको छैन भनेर गइनँ ।’ तर उमेरको उपल्लो बिन्दुमा पनि आफूले अपेक्षा गरेकोजस्तो परिवर्तन नआएपछि र देशको अवस्था सुध्रिने छाँट नदेखेपछि आफैं उम्मेदवार बन्न कस्सिएको उनले बताए ।

१७ वर्षको उमेरमा पोखरेलले नेपाली सेनाको भगवती पल्टनबाट जागिर सुरु गरेका थिए । सात वर्षपछि २००४ मा सेनाको जागिर छाडे, कांग्रेसको मुक्ति सेनामा लागे । त्यस दौरानमा भारत पुगेका बेला उनको भेट क्रान्तिको नेतृत्व सम्हालिरहेका सुवर्णशमशेरसँग भएको थियो । त्यही समय कांग्रेसको सिद्धान्त बुझेको बताउने उनले तीन वर्ष मुक्ति सेनामा रहेर काम गरे ।

क्रान्तिका दौरानमा बनारस पुगेका बेला बीपी कोइराला भेट्न पाएका उनी असाध्यै प्रभावित बने । ‘अन्याय सहन सकिँदैन, आफ्नो अधिकार लडेर लिनुपर्छ भनेर बीपीले भन्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘म पनि देश परिवर्तन नहुँदाको अन्याय सहन नसकेर, मन नै नमानेर उम्मेदवारी दिएको हुँ ।’

२००७ सालमा मुलुकमा जहानियाँ राणा शासन हटेपछि स्वदेश फर्किएका टीकाले गोरखाको छोप्राकमा मण्डली मावि स्थापनामा अग्रणी भूमिका खेलेका थिए । निरन्तर कांग्रेस समर्थक उनी पञ्चायतकालमा विभिन्न आन्दोलनमा संलग्न भएबापत ६ वर्ष जेल जीवन बिताए । पञ्चायतकालमै भएको सत्याग्रहमा सात महिना जेल परेका उनले त्यसपछिका वर्षहरूमा पनि सबैखाले परिवर्तनकारी आन्दोलनहरूमा सक्रिय भएर लागी नै रहे ।

तीन वर्षअघि कांग्रेसको सक्रिय राजनीति छाडेको घोषणा गरे । नेपाली कांग्रेस (बीपी) मा आबद्ध भए । जीवनको उत्तरार्द्धमा भए पनि परिवर्तन ल्याउन सकिन्छ कि भनेर उम्मेदवारी दिएको उनी बताउँछन् । बुढ्यौलीका कारण उनी कान कम सुन्छन् तर अरू ठूलो शारीरिक समस्या छैन । उनका कान्छा छोरा अर्जुनले बुवालाई अहिले पनि लौरोको सहारा नचाहिने बताए । ‘बुवा अब केही दिनमै एक सय वर्ष पुग्नुहुन्छ,’ अर्जुनले सुनाए, ‘यो उमेरमा पनि उहाँको उम्मेदवार बन्ने आकांक्षाले खुसी लाग्छ । उम्मेदवार बन्ने उहाँको नैसर्गिक अधिकार पनि हो, हाम्रो पूर्ण साथ सहयोग रहन्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu