Connect with us
Kapilvast Forest

उम्मेदवार नदेखेको गाउँ महजिदिया

२०७९, २८ कार्तिक सोमबारमा प्रकाशित

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै गाउँबस्तीमा चुनावी सरगर्मी बढेको छ तर, तीनतिर बबई नदी र एकतर्फ भारतको सीमासँग जोडिएको महजिदिया गाउँलाई भने यसको रौनकले अझै छुन सकेको छैन।

गुलरिया नगरपालिका–१० मा पर्ने महजिदिया गाउँका अधिकांश स्थानीयलाई निर्वाचनको मिति र उम्मेदवारको बारेमा न जानकारी छ, न कुनै चासो नै। न्यूनतम विकासका पूर्वाधारसमेत नपुगेको महजिदिया गाउँमा मल्लाह र हरिजन समुदायका ५० घर छन्।

ती घरका भित्ता र छानो खरले बनेका छन्। गाउँमा आजसम्म सडक, बिजुली र खानेपानीलगायत कुनै पनि सामान्य सुविधा पुगेको छैन। नदीमा पुल छैन। नदी वारपारका लागि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ। उक्त बस्तीमा बसोबास गर्ने मानिसको आफ्नो जग्गाजमिन छैन। जमिनदारको जग्गाजमिन ठेक्का र अधियाँ (बटैया)मा लिएर खेती गरिरहेका स्थानीयलाई चुनावले कहिल्यै छोएको छैन। स्थानीय मालमती मल्लाहाले यसअघि चुनाव जितेर गएका नेताहरू फर्किएर कहिल्यै गाउँ नआएको बताउनुभयो। आजसम्म कुनै उम्मेदवार मत माग्नका लागि आफ्नो गाउँमा नआएको उहाँले बताउनुभयो।

आफूहरूले मत दिएर जिताएको मान्छे पटक पटक सांसद भएको तर महजिदिया गाउँको विकास गर्न नसकेको स्थानीय लक्ष्मण मल्लाहाले दुखेसो पोख्नुभयो। यसअघिका चुनावमा दिएको सडक, पुल, बिजुली, खानेपानी र लालपुर्जालगायतका आश्वासन पूरा गर्न नसकेका कारण नेताहरू मत माग्न आउन नसकेको गोपाल मल्लाहाको ठहर छ।

बबई नदीले तीनतिर घेरिएर रहेको यो टापुजस्तै गाउँका अधिकांश बालबालिका विद्यालय नै जाँदैनन्। विद्यालय गएका अधिकांश विद्यार्थी नेपाली र भारतीय दुवैतिरका विद्यालयका विद्यार्थी हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu