प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका भारतीय युवक फरार
प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका एक जना थुनुवा फरार भएका छन्। बुधबार दिउँसो करिब ३ बजे जिल्ला अदालत काठमाडौंबाट एक जना आरोपी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
फरार हुनेमा भारतीय नागरिक १९ वर्षीय सचिनकुमार छन्। लागु औषध नाइट्राभेटसहित पक्राउ परेका उनीमाथिको अनुसन्धान सकेर मुद्दा बुझाउने तयारी रहेको एसपी मैनालीले बताए।
अदालतमा लग्दा शौचालय पुगेका उनी फरार भएका हुन्। उनको खोजी भइरहेको परिसरले जनाएको छ। यस्तै यसमा आन्तरिक छानविन पनि हुने एसपी मैनालीले बताए। फरार रहेका उनलाई देखे प्रहरीलाई खबर गर्न पनि परिसरले अनुरोध गरेको छ।