Connect with us
Kapilvast Forest

गौतमबुद्ध विमानस्थलबाट १ सय ५० अन्तर्राष्ट्रिय उडान

२०७९, २३ पुष शनिबारमा प्रकाशित

-लक्ष्मण पौडेल
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान भएका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा यसको प्रयोग भइरहेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत जेठ २ गते बुद्ध जयन्तीमा विमानस्थल उद्घाटन गर्नुभएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले उद्घाटनको दिनबाटै कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान थालेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीका लागि काठमाडौंमा श्रमलगायत प्रक्रिया पूरा गरेका श्रमिकलाई उक्त एयरले यहाँबाट लैजाने र उताबाट त्यस्तै व्यक्ति ल्याउने गरेको थियो । यहाँबाट उडान हुन थालेपछि स्थानीय सरोकारवाला र निजी क्षेत्रका लगानीकर्ता उत्साहित भएका छन् । उहाँका अनुसार यात्रुको सङ्ख्या वृद्धि भएपछि जजिरा एयरले गत भदौ ३१ गतेबाट दैनिक उडान सुरु गरेको थियो ।

“स्थानीय स्तरमा वैदेशिक रोजगारीमा जानेका लागि श्रम कागजात, मेडिकल जाँचलगायत सुविधा नहुँदा समस्या भयो”– दाहालले भन्नुभयो, “आवश्यक प्रक्रिया काठमाडौंमा पूरा गरेर जहाज चढ्न भैरहवा आउनुपर्ने भएपछि यात्रुलाई अप्ठ्यारो थियो ।” जसले गर्दा जजिराले गत असोज १६ गतेबाट केही दिन बिराएर उडान गर्न थालेको उहाँले बताउनुभयो ।

महाप्रबन्धक दाहालकाअनुसार हिमालय एयरलाइन्सले गत कात्तिक १७ गतेदेखि यहाँबाट दैनिक मलेसिया चार्टड उडान सुरु गरेको थियो । “अहिले खराब मौसमका कारण जजिरा र हिमालयले केही समयका लागि उडान स्थगित गरेका छन्”– उहाँले भन्नुभयो, “हुस्सु र बाक्लो कुहिरोले गर्दा उडान, अवतरणमा समस्या भएको हो ।”

उहाँका अनुसार यहाँबाट २०२२ मे १६ तारिखदेखि डिसेम्बर १८ सम्म विभिन्न कम्पनीबाट १५४ अन्तर्राष्ट्रिय उडान भएका छन् । त्यत्तिकै सङ्ख्या विमान अवतरण भएका छन् । ती उडान–अवतरणबाट उक्त अवधिमा १३ हजार ५९३ यात्रु यहाँ आएका छन् । यहाँबाट १८ हजार २५ यात्रु बाहिरिएका छन् ।

महाप्रबन्धक दाहालका अनुसार जजिरा र हिमालय बाहेक अहिलेसम्म भियतनाम, माल्टा, क्यानडाका विमानले उडान चार्टड गरेका छन् । यस अवधिमा स्काइलाइन एभिएसन, एरो थाई, नेपाल एयरलाइन्स र ओटासी लिमिटेडले उडान भरेको दाहालले जानकारी दिनुभयो । “यस अवधिमा धेरै विमान कम्पनीले उडानका लागि चासो देखाए”–उहाँले भन्नुभयो, “यहाँ आएर विमानस्थल अवलोकन गरे । तर, उडानमा ढिलाइ गरिरहेका छन् ।”

नागरिक उड्डयन प्राधिकरणले यहाँ अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी आकर्षित गर्न अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सेवा र सुरक्षा जाँच शुल्कमा पहिलो वर्षका लागि शत प्रतिशत छुट व्यवस्था गरिएको छ । महाप्रबन्धक दाहालका अनुसार नेपाल वायु सेवा निगमले लिने ग्राउण्ड ह्याण्डलिङ सेवा शुल्कमा गत कात्तिक १५ गतेबाट अर्को निर्णय नभएसम्मका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

“ठूलो लगानी र धेरै नागरिकको भरोसाको विमानस्थल भएकाले हामीले विभिन्न चुनौतीका बाबजुद सञ्चालन गरिरहेका छौँ”–उहाँले भन्नुभयो, “यसको भविष्य राम्रो देख्छु ।”

यहाँस्थित विमानस्थलमा चारवटा न्यारो र एक वाइड बडी गरेर पाँच वटा विमान पार्किङ क्षमता छ । अहिले टर्मिनल भवनमा पाँच सय ५० जना यात्रु एकैसाथ अट्छन् । अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पार्किङमा १६० ट्याक्सी र अन्य सवारी राख्न सकिन्छ ।

“अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले भन्सार, अध्यागमन, मेट्रोलोजी, बैङ्क, पारवहन तथा गोदाम व्यवस्था, सुरक्षा प्रहरी, नेपाली सेनालगायत गरेर २१ वटा कार्यालयले सेवा सुरु गरिसकेका छन्” दाहालले भन्नुभयो, “विमानस्थलको अप्रेसन समय २४ सै घण्टा उपलब्ध रहेको छ ।” यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक जनशक्ति, मेसिन, औजारलगायत उपकरण व्यवस्थित भइसकेको उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu