बुबाको मृत्युपछि तीन नाबालकको बिचल्ली
बिजुवार- भीरबाट लडेर बुबाको मृत्यु भएपछि प्युठानको झिमरुक गाउँपालिका ३ बादिकोटका तीन जना बालकको बिचल्ली भएको छ । स्थानीय वसन्त सामतको मृत्यु भएपछि उहाँको श्रीमती र सन्तानको बिचल्ली भएको हो ।
सामतको गत पुस ३० गते धार्मिक स्थल गौमुखीमा लाग्ने माघे सक्रान्ती मेला हेर्न जाने क्रममा ठुला चौर भिरबाट लडेर ज्यान गएको थियो । गाउँमा ज्यालादारी गरेर परिवारको गुजारा चलाउँदै आउनुभएका सामतको मृत्युपछी कमाउने कोही नहुँदा असक्त श्रीमती सुन्तली सामत, छोराहरू १२ वर्षीय प्रशान्त, ९ वर्षीय गणेश र ६ वर्षीय धन बहादुर सामत सहारा विहिन बनेका हुन् ।
माटो खन्ने क्रममा ढिस्कोले पुरेपछि मृतक वसन्तकी श्रीमती सुन्तली अशक्त अवस्थामा हुनुहुन्छ । तीनै जना छोराहरू नाबालक भएकाले उनीहरूको बिचल्ली भएको हो । सुन्तलीले भन्नुभयो श्रीमानको मृत्यु भयो, छोराहरू सानै छन् घरको अवस्था नाजुक छ अव कसरी बाँच्ने ? आँखा भरी आँसु बनाउँदै भन्नुभयो । बुबाको किरिया खर्च समेत छिमेकीले जुटाएर गरिदिएका छन् । घरमा खाने अन्न छैन । ओढ्ने ओछ्याउने लत्ताकपडा छिमेकीले सहयोग गरेका हुन्।