जनगणनाको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीको समय पर्खिंदै
काठमाडौं- २०७८ सालमा भएको राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन २०७९ सालको दशौं महिना आइपुग्दासम्म सार्वजनिक भएको छैन । केन्द्रीय तथ्यांक विभाग -हालको राष्ट्रिय तथ्यांक कार्यालय) ले जनगणनाको प्रारम्भिक प्रतिवेदन १२ माघमा सार्वजनिक गरेको थियो र ६ महिनाभित्र पूर्ण प्रतिवेदन ल्याउने घोषणा गरेको थियो । यदि घोषणाअनुसार काम भएको भए गत असारमै प्रतिवेदन आइसक्नुपर्ने थियो ।
तथ्यांक कार्यालय स्रोतका अनुसार जनगणनाको पूर्ण प्रतिवेदन वर्तमान सरकार गठनअगाडि नै तयार भइसकेको थियो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाटै प्रतिवेदन सार्वजनिक गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समय पनि मागिएको थियो । तर सरकार परिवर्तन भयो । त्यसपछि नयाँ प्रधानमन्त्रीबाट नतिजा सार्वजनिक गराउने भन्दै केही समय रोकियो ।
२०६८ सालको प्रतिवेदन तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट सार्वजनिक गरिएको हो स्रोतले भन्यो यही प्रणाली अहिले पनि अपनाउन खोज्दा ढिलाइ भइरहेको छ ।
नयाँ तथ्यांक ऐन जारी भएपछि हाल तथ्यांक कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको छ । सोहीकारण कार्यालयको प्रमुखका रुपमा सरकार प्रमुखबाट जनगणना प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिएको हो ।
कार्यालयका एक अधिकारीका अनुसार जनगणना प्रतिवेदनमा राख्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शुभकामना सन्देश आइसकेको छ । तर प्रधानमन्त्रीबाट प्रतिवेदन सार्वजनिक गर्न समय कार्यालयले पाएको छैन । प्रतिवेदन तयार छ प्रधानमन्त्रीको शुभकामना सन्देश पनि छापिइसक्यो, तर सार्वजनिक गर्न समय पाएका छैनौं कार्यालयका एक अधिकारीले भने ।
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले मुख्य प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको बताए । तर हाल जनगणनासँग जोडिएका सहायक तथ्यांकहरु समेत तयार गर्ने काम धमाधम भइरहेको जानकारी दिए ।
यी सबै तथ्यांक वेबसाइटमा राखेर सबैले हेर्न सक्ने व्यवस्था गरिने उनले बताए । प्रधानमन्त्रीबाट जनगणनाको मुख्य प्रतिवेदनसँगै वेबसाइटसमेत उद्घाटन गर्ने र अधिकांश प्रतिवेदनहरु हेर्न मिल्ने बनाइने निर्देशक लामिछानेले बताए ।
१२औं जनगणना २०७८ सालको २५ कात्तिकदेखि ९ मंसिरसम्म स्थलगत रुपमा गरिएको हो । जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । २०६८ सालमा भन्दा २६ लाख ९७ हजार ९७६ जनसंख्या बढेको छ ।
अघिल्लो जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ जना थियो । नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । नयाँ जनगणना अनुसार पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ र महिला १ करोड ४९ लाख १ हजार १६९ जना रहेका छन् । प्रारम्भिक नतिजा अनुसार लैंगिक अनुपात ९५.९१ प्रतिशत छ ।
प्रारम्भिक नतिजाले नेपालमा ६७ लाख ६१ हजार ५९ परिवार संख्या रहेको देखाएको छ । यी परिवारमध्ये ५६ लाख ४३ हजार ९४५ घरमा बस्छन् । नेपालमा प्रति घरपरिवार ४.३२ जना सदस्य छन् ।