दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन
पर्वत– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिनुभयो ।
स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टाँै लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिनुभयो । ऐन नियम र कानुनको परिधिभित्र रही कार्यालयको काम गर्नुस् दबाब र प्रभावमा परेर होइन् उहाँले भन्नुभयो । जिल्लामा सञ्चालित विकास निर्माणका काम समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालय र आयोजना प्रमुखलाई मन्त्री गिरीले निर्देशन दिनुभयो ।