तीन वर्षदेखि टिपताला नाका बन्द सिमावर्ती क्षेत्रका बासिन्दा समस्यामा
ताप्लेजुङ- कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो ।
लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला याङ्मा घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ ।
यहाँका बासिन्दाले खाद्यान्न लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु तिब्बतको रिउबजारबाट आयात गर्दै आएका थिए । गलैँचा घिउ छुर्पी जडीबुटीलगायत उत्पादन रिउबजारमै लगेर बेच्ने गरेका थिए ।
दोहोरो व्यापार सम्बन्धसहित सर्वसुलभरूपमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान उपभोग गर्दै आएका उनीहरूलाई अहिले समस्या भएको छ । व्यवसायीले उत्पादन गरेका गलैँचाले बजार नपाएपछि घरमै थन्किएका छन् भने अन्य उत्पादन पनि सहजरूपमा बजार लैजान सकिएको छैन ।
खाद्यान्नसहितका सामान महँगो ढुवानी खर्चसहित सदरमुकाम फुङ्लिङबाट लैजानुपर्ने बाध्यता छ । फुङ्लिङमा प्रतिकिलो रु ३० पर्ने नुन ओलाङचुङगोलामा रु दुई सय पर्छ । अरु सामानको मूल्य पनि उत्तिकै महँगो छ ।