उपप्रधानमन्त्री लिङ्देन र राजदूत पोलिटबीच भेटवार्ता
काठमाडौं- उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज शुक्रवार भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो। त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयसँगको सहकार्यलाई अझै बिस्तार गर्ने बताउनुभयो ।
नवीकरणीय ऊर्जा उत्पादन तथा विधुत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको राजदूत पोलिटले बताउनुभयो । ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।