सरकारी सर्भर जोखिमको चौघेरामा
काठमाडौं- शनिबार झण्डै चार घण्टा सरकारका सबै वेबसाइट डाउन भए । सिंहरबारदरस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) मा रहेको सूचना प्रविधि प्रणालीमा समस्या आएर अनलाइनमा दर्ता अभिलेख नचल्दा अन्तर्राष्ट्रिय उडानदेखि सरकारी फारम भर्ने सेवासम्म देशैभर प्रभावित भए ।
केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार एकसाथ धेरै ठाउँबाट प्रणालीमा अनधिकृत पहुँच स्थापित गर्न साइबर आक्रमण हुँदा यस्तो समस्या आएको हो । सर्भर डाउन हुने समस्या नेपालका सरकारी निकायमा सेवा लिनेहरुका लागि नयाँ होइन ।
प्रवक्ता पोखरेलका अनुसार यस्ता समस्या सधैं एउटै कारणले आउँदैन । तर मुख्य रुपमा समस्याहरु पहिचान भइसक्दा पनि आवश्यक सुधार तथा अद्यावधिक गर्नेतर्फ ध्यान नदिंदा लगातारजसो सिस्टम डाउन भएर धेरैबेर लाइन बस्दा पनि कर तिर्न समेत सकिंदैन भने कहिले घरबाट पासपोर्टको फारम भर्न पनि सकस पर्छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र सञ्चालनमा ल्याएको प्रणालीमा बारम्बार सर्भर डाउन हुने इन्टरनेट सेवा धेरैपटक बिच्छेद भइरहने इमेलमा विभिन्न समस्या आइरहने होस्टिङ भएका वेबसाइट नखुल्ने वा ढिला खुल्ने लगायत अनेकन समस्या छन् । यस्तो समस्या पर्दा एनआईटीसीमा गुनासो गर्न सरोकारवाला निकायका लागि एउटा डेडिकेटेड कल सेन्टरसमेत छैन ।