शपथको व्यहोराबाट गोपनीयता शब्द हटाउन सूचना आयोगको सुझाव
काठमाडौं- राष्ट्रिय सूचना आयोगले सार्वजनिक पद धारण गर्दा गोपनीयताको शपथ खाने व्यवस्था हटाउन सरकारलाई सुझाव दिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको वार्षिक प्रतिवेदन २०७८/७९ मा आयोगले उक्त सुझाव दिएको हो ।
आयोगको प्रतिवेदनमा लेखिएको छ, ‘शासन पद्धतिमा भइरहेको विकास र सुशासनको आवश्यकतालाई ध्यानमा राखी गोपनीयताको शपथ गराउन सान्दर्भिक हुन सक्दैन । तसर्थ सार्वजनिक पद ग्रहण गर्नेका लागि शपथमा रहेको गोपनीयता शब्द पूर्णरुपमा हटाउनुपर्छ । आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले एकातिर खुला, पारदर्शिता र सुशासनको कुरा गर्ने र अर्कोतिर गोपनीयताको कसम खाने कुरा आपसमा बाझिएको बताए ।