विवाह गर्दै निहारिका र शिवराज
जनकपुरधाम- आफूलाई ‘कुमारी आमा’का रूपमा चिनाउँदै आउनुभएकी निहारिका राजपुत र आरोपित शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने हुनुभएको छ । धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहवरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम निहारिकाले शिवराजसँग दाम्पत्य जीवन प्रारम्भ गर्ने गरी मुद्दा मिलापत्र गरेपछि दुवैजना वैवाहिक बन्धनमा बाँधिन लाग्नुभएको हो ।
आइतबार मात्रै निहारिकाले धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिनुभएको थियो । सोमबार दुवै जनाबीच मिलापत्र भएपछि विगतका झगडा बिर्सेर एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गरी बस्ने निर्णय भएको हो ।
म र नाबालक छोरासमेतलाई इज्जतअनुसार खान लाउन औषधोपचार खर्च छोराको पढाइलेखाइ खर्च तथा पिता–पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर शिवराजले स्वीकार गरेपछि म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेर मिलापत्र गरेकी हुँ निहारिकाले मिलापत्रमा भन्नुभएको छ ।
शिवराजको घरपरिवारले आफू र आफ्नो बच्चालाई ससम्मान स्वीकारेका छन् छोराले घर बुवा र परिवार पाएको छ त्यसैमा सबैको भलो भएको छ त्यसैले आफू र शिवराजले पनि विगतका सबै कुरा बिर्सेर नयाँ सुरुवातका साथ अगाडि बढ्ने निर्णय गरेकोमा निहारिकाले खुसी व्यक्त गर्नुभयो । यही माघ २७ गते आफू र शिवराजले सामाजिक परम्पराअनुसार जानकी मन्दिरमा विवाह गर्ने जानकारीसमेत उहाँले दिनुभयो ।