फोहोर व्यवस्थापनबारे अमेरिकाकाे नगर र काठमाडौँ नगरबीच छलफल
काठमाडौँ महानगरपालिका र संयुक्त राज्य अमेरिकाको फेडरिसवर्ग नगरले फोहोर व्यवस्थापनका लागि आफूले गरेका कामको अनुभव आदान प्रदान भएको छ । भर्चुअल विधिबाट विहीबार आपसी ज्ञान सीप र अनुभव आदान प्रदान गरिएको हो । त्यस क्रममा काठमाडौँ महानगरका तर्फबाट सरिता राईले र फेडरिसवर्गका तर्फबाट म्याथु केलीको नेतृत्वमा समूहगत प्रस्तुतिकरण गर्नुभएको थियो ।
प्रस्तुतिकरणमा फोहोर संकलन ढुवानी र अन्तिम व्यवस्थापन, स्रोतमा भएको फोहोर घटाउने विधि, फोहोरको प्रकृति, रेष्टुरेन्टलगायत ठाउँबाट उत्पादन हुने तेल र खाद्य फोहोर फोहोर, उद्योगबाट उत्पादन हुने औद्योगिक फोहोर, हानीकारक र साधारण फोहोर, प्लाष्टिक, शिशा, कागजलगायत बस्तुको गुण र व्यवस्थापन विधि समेत समेटिएका थिए ।
दुवै नगरविच भएको प्रस्तुतिमा फोहोर व्यवस्थापनमा हुने खर्च, फोहोरसँग लगाइने शुल्क तथा दस्तुर, यसबाट प्राप्त भएको रकमबाट व्यवस्थापनमा पुग्ने योगदान, ल्याण्डफिल साइट र यसको दिगो व्यवस्थापनका विषयमा आफ्ना आफ्ना अनुभव सुनाइएको थियो ।