राष्ट्रपति भण्डारी जलजलाको बराह तालमा आउने
म्याग्दी- राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १० गते पर्वतको जलजला गाउँपालिकामा रहेको हम्पाल कालञ्जर, जलजला र बराह तालको भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन जलजला गाउँपालिका तयारीमा जुटेको छ ।
धार्मिक,ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रूपमा चिनिएको उक्त क्षेत्रको पर्यटन प्रवर्धन तथा प्रचारप्रसारमा सहयोग पुग्ने विश्वासका साथ ती क्षेत्रलाई राष्ट्रपतिबाट अवलोकन गराउन लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यलेबताएका छन्।
भ्रमणका क्रममा वडा नम्बर २ पूर्णगाउँमा रहेको धार्मिक पर्यटकीय सम्भावना बोकेको बराह ताल परिसरमा निर्माण गरिएको घर्ती क्षेत्रीको कुल मन्दिरको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको वडा नम्बर २ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभएको छ ।
राष्ट्रपतिका साथमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र मुख्य सचिव शङ्करदास बैरागी लगायत उच्चपदस्थ अधिकारीहरु आउनुहुने कार्यक्रम रहेको उहाँले जनाउनु भयो ।
साथै राष्ट्रपति भण्डारीले हम्पाल कालाञ्जर क्षेत्रमा निर्माण भइरहेका भौतिक संरचनाको अवलोकन गरेपछि वराहक्षेत्रमा निर्माण भएका दुई वटा कुल मन्दिरको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।