सन्दीप लामिछाने प्रकरण : सर्वोच्च अदालतको चिठी ११ दिनसम्म पाटन पुगेन
काठमाडौं- बलात्कार मुद्दाका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्नुको आधार र कारण माग गर्दै सर्वोच्च अदालतले लेखेको पत्र ११ दिनसम्म पनि उच्च अदालत पाटन पुगेको छैन ।
नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले दिएको पुनरावेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले २० माघमा ‘कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको थियो ।
तर उक्त आदेशबारे औपचारिक जानकारी आइतबार दिउँसोसम्म उच्च अदालत पाटनमा आइनपुगेको एक अधिकारीले जानकारी दिए । सर्वोच्च अदालतले र उच्च अदालतको दुरी २.४ किलोमिटर मात्रै छ । यो दुरी हिडेर जाँदा बढीमा ४५ मिनेट र गाडीमा १५ मिनेटमा तय गर्न सकिन्छ ।
उच्च अदालत पाटनका एक अधिकृतले भने लामिछानेलाई धरौटीमा छाड्ने आदेश विरुद्ध मगाइएको कैफियत प्रतिवेदन आइतबार साँझसम्म पनि हामीकहाँ आइपुगेको छैन । चिठी पुगेपछि पनि उच्च अदालतले मुद्दाको प्रकृति हेरी कैफियत प्रतिवेदन पठाउन एकदेखि दुई सातासम्म लाग्ने ती अधिकृतले बताए ।
कुनै आरोपितलाई के आधारमा थुनामा पठाउने धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने आदेश भएको हो त्यसकव आधार र कारण खुलाई तयार पारेको विवरणलाई अदालती भाषामा कैफियत प्रतिवेदन भनिन्छ ।