राज्यसँग छैन जलन उपचार अस्पताल
काठमाडौँ- ग्यास आगलागीको जलनमा परेका प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई उपचारका लागि भारत लगिएको छ । उहाँको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार सुरु भएको छ । बुधबार राति आफ्नै निवासमा ग्यास चुहावटका कारण जल्नुभएकी उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
उक्त अस्पताल नेपालकै एक मात्र जलन उपचार अस्पतालका रूपमा रहेको छ तर यो सरकारी वा निजी क्षेत्रबाट नभई फेक्ट नेपाल नामक गैरसरकारी संस्थाबाट सञ्चालनमा रहेको छ । प्रतिनिधि सभा सदस्य डा. भण्डारीको शरीर आमाको भन्दा कम जलेको भए पनि अस्पतालको क्षमता कम रहेका कारण उपचारका लागि विदेशस्थित सुविधासम्पन्न अस्पताल लैजान सिफारिस गरिएको हो ।
उहाँको हात, खुट्टा र अनुहार जल्नुका साथै श्वासनलीमा समेत असर परेको अनुमान गरिएको छ । उहाँलाई श्री एयरलाइन्सको विमानबाट भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको हो । यसअघि माघ १० गते संसद् भवनअगाडि नयाँ बानेश्वरमा आत्मदाह प्रयास गरेका प्रेम आचार्यको सोही अस्पतालमा बोल्दाबोल्दै निधन भएको थियो ।