महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
काठमाडौँ- यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ ।
शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा यस वर्ष अन्यलाई पासको व्यवस्था गरिएको छैन ।
यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको र भक्तजनको व्यवस्थापनका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको सञ्चालक परिषद् सदस्य एवं मेलाबजार सञ्चालन तथा साज–सजावट व्यवस्थापन उपसमितिका संयोजक पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो ।
यस पटक महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तको लागि हंसमण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिने र त्यहाँ संरचना निर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।