धाप बाँध निर्माणले बागमती स्वच्छ
काठमाडौँ- बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको धाप बाँध आयोजनाको उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्मित सो बाँध सुन्दरीजलबाट २१ किलोमिटर दुरीमा अवस्थित छ ।
उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले बिहीबार शिला अनावरण तथा ढोका खोलेर सो बाँधको उद्घाटन गर्नुभयो । प्रतिसेकेण्ड चार सय लिटरको दरले पानी छोडिएसँगै महाशिवरात्रिको अवसरमा बागमती नदीमा जलप्रवाह बढ्नुका साथै पानी थप सफा हुने विश्वास गरिएको छ ।
चौबिस मिटर अग्लो बाँध निर्माण गरी वर्षातको पानी सङ्कलन गरेर बाँकी समयमा आवश्यकताअनुसार क्रमशः छाड्ने र बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गरिएको यस ड्यामको आठ लाख ५० हजार घन मिटर पानी भण्डारण गर्ने क्षमता रहेको छ ।