नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुग्यो
काठमाडौं- नेपाल र मावली गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत/स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि मावली गणतन्त्रका राजदूत/स्थायी प्रतिनिधि एग्नेस मेरी चिम्बीरी–मोलान्डेले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कमा एक संक्षिप्त समारोहमा बिहीबार सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षरपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाका बारेमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा दुवै राजदूतले हस्ताक्षर गर्नुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।