अनुसन्धानका काममा थप प्रगति हासिल गर्ने प्रधानमन्त्रीको विश्वास
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आगामी दिनमा अनुसन्धानका काममा थप प्रगति हासिल गर्ने गरी अगाडि बढ्ने अपेक्षा गर्नु भएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्तिको उत्पादन प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुने गरी अनुसन्धानका काममा थप प्रगति हासिल गर्ने गरी अगाडि बढ्ने अपेक्षा गर्दछु ।
समारोहमा उपस्थित विद्यार्थीलाई लक्षित गरी प्रधानमन्त्री प्रचण्डले भन्नुभयो तपाईँहरूले जुन उपाधि प्राप्त गर्नुभएको छ त्यसभित्र यहाँहरूको लक्ष्यप्रतिको दृढता लगनशीलता अनुशासन र समाज एवम् राष्ट्रका निम्ति केही गरिछाड्ने सङ्कल्प लुकेको छ । त्यही मेहनत र सङ्कल्पको जगमा नै तपाईँहरू दीक्षित हुने ऐतिहासिक क्षणमा हुनुहुन्छ । यो यहाँहरूको लागि मात्र नभएर हामी सबैका लागि प्रेरणादायी र गौरवपूर्ण छ ।