पाहुनालाई काउलीको गुन्द्रुक उपहार
चरिकोट- प्रचारप्रसारका लागि दोलखाको सैलुङ गाउँपालिका–८ झोर गाउँका बासिन्दाले पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहनती किसानहरूको गाउँ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको स्थानीय किसान दिनेश श्रेष्ठले बताउनु भयो ।
उत्पादित गुन्द्रुक अहिले घरमा खाने र पाहुनाहरूलाई उपहारको रूपमा दिने गरिएको छ । उहाँले भन्नु भयो आगामी वर्षदेखि व्यावसायिक रूपमा गुन्द्रुक बनाउने सोच पलाएको छ । गुन्द्रुक राष्ट्रिय तरकारी भनिन्छ तर फैलावट हुन सकेको छैन । ठूल्ठूला तारे होटेलमा हाम्रो सम्पर्क हुन नसक्दा बजार अभाव देखिएको छ ।
उहाँले भन्नुभयो काउलीको पातको स्वादिष्ट गुन्द्रुकको बिक्री वितरण सुरु भई नसकेको भए पनि घरमा खाने र काठमाडौँ तथा पोखरातिर उपहारको रूपमा पठाउने गरिएको छ । ढुवानीको असुविधाले माग आएको पनि छैन । अब व्यावसायिक बनेर गुन्द्रुक बिक्री वितरण गर्ने सोच आएको छ ।
काउली बिक्री गर्दा ठुला पातहरू छाँट्नुपर्ने भएकाले त्यसको उपयोगिताको लागि गुन्द्रुक बनाउने गरिएको हो । काउलीको पातको गुन्द्रुक स्वादिलो हुने भएकोले आफन्तले रुचाउने गरेका किसान दिनेशले बताउनुभयो ।