पिडित भन्छन:“लघुवित्तको दवाबले गर्भवती लिलावतीको मृत्य भयो”
सनिउल्ला धोबी, कपिलवस्तु-
लघुवित्त भन्ना साथ सानो सानो वित्तीय क्रियाकलाप हो भनेर बुझिन्छ । लघुवित्त सेवा अन्तरगत वित्तीय संस्थाहरुले स–सानो आकारका वित्तीय सेवाहरु प्रदान गर्ने गर्दछन् । त्यस्तो वित्तीय सेवाहरुमा कर्जा, बचत, बीमा तथा विप्रषेण सेवा समेत पर्दछन् । नेपालको अर्थतन्त्र कृषिमा निर्भर रहेको छ । तर अहिलेको अवस्थामा लघुवित्तले कतिपय नेपालीलाई नघरको, नघाटको बनाएको छ ।
सानातिना आर्थिक गर्जो टार्न या उत्पादनमूलक काममा लगानी गर्न जनतालाई सहायता मिलोस् भनेर लघुवित्त संस्थाहरु खुलेका हुन् । तर कपिलवस्तुमा थुप्रै यस्ता पीडितहरु छन, जो लघुवित्तकै कारण असहाय र निरुपाय बन्न पुगेका छन ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ का मुरेश मौर्याको श्रीमती लिलावती मौर्याको गत पुष ३ गते मृत्यु भयो । लिलावती गर्मवती थिइन । उनले लघुवित्तबाट ६ लाख रुपैया निकालेका थिए । लघुवित्तको दवावले लिलावतीको मृत्यु भएको उनको श्रीमान मुरेशको भनाई रहेको छ । मुरेश भन्छन “रातदिन लघुवित्तले दवाब दिएपछि गर्भवती श्रीमतीको मृत्यु भएको हो । लघुवित्तका कारण मेरो, घर परिवार तहस नहस भयो ।”

कपिलवस्तु शिवराज नगरपालिका करिब ३ सय जना लघुवित्तबाट पिडित बनेका छन । चन्द्रौटा, खरेन्द्रपुर र बहादुरगंजमा रहेका नाडेप, नेरुडे, स्वाभिमान, उन्नती, ग्रामीण विकास, सिभिल, एनआईसी एशिया र मेरो माईक्रोफाईनान्स लघुबित्त लगायतका बित्तिय संस्थाबाट आफुहरु पिडित भएको स्थानीय रफिक खानले बताउनुभयो ।
लघुबित्तका कर्मचारी एक्लै आउदैेन, हुलै बाधेर आउछन् कर्मचारीले रातदिन खेद्न थालेपछि उनीहरुलाई देख्दासाथ कतिपय ऋणी घरमा ताला लगाएर लुक्ने गरेको रफिकको भनाई रहेको छ ।

लघुबित्तले ज्यादती गर्न गर्नपछि विरूद्ध समिति नै बनाएर संघर्ष गर्दै छन् । समितिले माईिकिङ गरेर गाउगाउमा सचेतना गरिरहेका छन् । स्थानियहरु लघुवित्तबाट विभिन्न तवरमा ऋणीहरू ठगिने गरेको बताउछन् । ऋण संझौता अनुसार सबै रकम पाउदैनन् । ५ देखि १० हजारसम्म कम पाउछन् । सेवा शुल्क, बिमा शुल्क र केन्द्र शुल्क भन्दै उनीहरुलाई सबै रकम दिइन्न । बिमा शुल्क कटौती गरेर लिए पनि चौपाया मरेपछि बिमा रकम नपाउने गरेको किसानहरुको गुनासो रहेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पश्चिम कपिलवस्तुले लघुवित्त र मिटर ब्याजीलाई प्रतिबन्ध गरेको छ । शोषणले जनतालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै आइतबार एक प्रेस विज्ञप्ति जारी गरेको नेकपाले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी पश्चिम कपिलवस्तुका इन्चार्ज हेमन्त सि र जिल्ला सेक्रेटरी पावेल सीद्धारा हस्तक्षरित विज्ञप्तीमा मिटर ब्याजी र लघुवित्तिय संस्थाले ज्यादती गरेको जनाएको छ ।

मिटर ब्याजी र लघुवित्तिय संस्थाहरूको आतंकले पश्चिम कपिलवस्तुका जनतालाई जीवन मरणको अवस्थामा पु¥याएको छ । “त्यस्ता व्यक्ति र संस्थाको अमानवीय आर्थिक शोषणले जनतालाई आत्महत्या समेत गर्न बाध्य बनाएको छ । विभिन्न प्रकारका डर, धम्की र दबाब दिएर गरिने यस्ता कार्यको सम्बन्धमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुको गम्भीर ध्यानाकर्षण भएको जिल्ला सेक्रेटरी पावेल सिले बताउनु भयो ।

राष्ट्र बैंकले यस्ता लघु वित्त संस्थालाई कारबाही गर्नुपर्छ । लघुवित्तको अवधरणा भनेकै देशमा कोही पनि गरिब नरहुन् भन्ने हो तर लघुवित्तकै कारण कतिपयको उठीबास भएको छ । लघुवित्तबाट सेवा शुल्क, चर्को ब्याज र किस्ता असुल्न मालसामान नै उठाउने प्रवृत्तिबाट पाइलैपिच्छे ठगिएका उनीहरुको परिवार नै तहसनहस बन्ने अवस्थामा पुगेको छ ।