Connect with us
Kapilvast Forest

दलितको भोज खाएको भन्दै सामाजिक बहिष्कार

२०७९, १९ फाल्गुन शुक्रबारमा प्रकाशित

जनकपुरधाम-दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिष्कारमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिष्कार गरेको हो ।

महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएका थिए । तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा (६ दिनमा हुने छठिहार)मा शुभनारायणले साधुसन्तको भोज (भण्डारा) गरेका थिए । सोही भोजमा महतो पनि सरिक भएका थिए । त्यसपछि उनी महतो (कोइरी) समुदायको बहिष्करणमा परेका हुन् । ‘उनीहरुले मलाई जातबाट निकालिदिएको र भातपानी बारेको भनेका छन्’ महतोले सुनाए, ‘सार्वजनिक रुपमा माफी नमागेसम्म जातमा समावेश नगर्ने अडान उनीहरुले लिएका छन् ।’

आफूलाई रामचन्द्र महतो, शंकर महतो, सितो महतो, जवाहर महतो, रामसृष्ठ महतो, दुखा महतो लगायतले चमारको भोज खाएको निहुँमा पञ्चायतमा दुर्व्यवहार समेत गरेको उनको गुनासो छ ।

शुभनारायणको घरमा भोज खाएयता भिखारीलाई गाउँघरमा हुने कोइरी, यादव समुदायको कुनै पनि भोजमा सरिक हुन दिइएको छैन । ‘शुभनारायणकोमा भोज खाएयता ६।७ वटा भोज भए । तर कोइरी र यादवले समेत मलाई भोजको निम्तो दिएनन् । आफ्नै जातिले नै प्रतिबन्ध लगाएपछि अन्य जातले पनि त्यसो गर्न थालेका छन्’ महतोले भने ।

दलित भए पनि शुभनारायणको परिवार पनि वैष्णव हुन् । घरमा कोही माछामासु खाँदैनन् । धार्मिक सत्संग, प्रवचनमा सरिक हुन्छन् । महतोले आफूले कहिल्यै पनि तल्लो–माथिल्लो जातको भनेर भेदभाव नगरेको बताउँछन् । ‘म जातीय छुवाछूत मान्दिनँ । दलितको भोज खाएकै निहुँमा मलाई सार्वजनिक माफी माग्न कर गरिरहेका छन्’ उनले भने, ‘मैले के अपराध गरेको छु र माफी माग्नु ! माफी माग्दिनँ भन्ने अडान मैले लिएको छु । त्यसैले मलाई बहिष्कार गरेका छन् ।’

घटना पश्चात भिखारीले दोषीहरुमाथि कारबाही र न्याय माग्दै इलाका प्रहरी कार्याय गौशालामा उजुरी दिएका छन् । तर उजुरीमाथि प्रहरीले खासै चासो नदिएको उनको गुनासो छ ।

शुभनारायणले पनि भिखारीलाई आफ्नो घरमा भोज खाएको निहुँमा अछूत भन्दै भातपानी बारेको बताए । ‘मेरै भोज खाएपछि भिखारीजी जातबाट निकालिएको हो । उहाँसँग म पनि पटक–पटक प्रहरीमा पुगें। १४ गते छलफलको समय थियो तर विपक्षीहरु आएनन् । प्रहरीले पनि खासै चासो देखाएको छैन’, शुभनारायणले भने । इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (सई) भुवनसिंह कार्कीले भिखारीको उजुरी आएको र आरोपीहरुलाई बोलाएर सोधपुछ गर्ने कार्य भएको बताए । विदामा रहेका प्रहरी निरीक्षक रञ्जन मिश्र कार्यालय आएपछि यो घटनाको विषयमा थप कारबाही अघि बढाइने कार्कीको भनाइ छ ।

सोनमा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मिठु रायले दलितकै घरमा भोज खाएको निहुँमा भिखारी महतोलाई बहिष्कार गरेको घटना सत्य भएको बताए । आफूले पनि कोइरीको माइजन देवानसँग कुरा गरेर यसो नगर्न आग्रह गरेको उनले बताए । ‘घटना सही हो । मैले कोइरी जातका माइजन देवानलाई भेटेर आग्रह गरें। दलितकै घरमा भोज खाएको निहुँमा भिखारीको भातपानी यसरी नबार्नुस् । खान दिनुस् । तर जातीय माइजन देवान उनलाई नखुवाउने अडानमा छन्’, वडाध्यक्ष रायले सुनाए ।

नेपालमा जातीय भेदभाव दण्डनीय छ । यदि कसैले गरे तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुईलाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu