डम्फु र मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै
महोत्तरी- पर्व आउन दुई दिन मात्रै छ । तर, विगतका वर्षहरूमा देखिने फागुको रोमाञ्चकता तथा उत्साहपूर्ण पर्खाइ भने अहिले हराउँदै गएको छ । मिथिलामा फागुको स्वागतमा हार्मोनियमको मिठो राग लय एवम् डम्फु र मृदङ्गको तालमा जम्ने जोगिराको दलान देखिन छाडेको छ । श्रीपञ्चमी (वसन्तपञ्चमी) सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा फागुविशेष गीत अब महोत्तरीसहितका मिथिलामा सुन्न छाडिएका छन् ।
श्रीपञ्चमी पर्व माघ शुक्ल पञ्चमी मा वसन्त उत्सव सुरु गरिएसँगै मृदङ्ग हारमोनियम र डम्फु जोगिराका वाद्यवादन का तालमा प्रत्येक रात मिथिलाका बस्ती–बस्तीमा गाइने जोगिरा फागुन उत्सवमा गाइने गीत पछिल्ला दुई दशकयता कम सुनिन थालेको हो ।
मिथिलाका बस्ती–बस्तीमा टोलैपिच्छे घरदलानमा गवैया गायक का समूहले गाउने जोगिराले दिने फागु पर्व नजिकिएको सन्देश अब सुन्न छाडिएकोमा यहाँका बुढापाकाको चिन्ता छ । एउटा बस्तीका गवैया एक ठाउँ भेला भएर सामूहिक रूपमा गाइने जोगिराले होरी फागु को सन्देश दिन र उमङ्गसित बनाउने विषय अब कथामा मात्रै भएको महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका पुराना जोगिरा गवैया ६० वर्षीय छठु महतोको भनाइ छ ।