चितवनमा स्ववियुको निर्वाचन अवरोध गर्न लगाइएका ताला प्रहरीले फुटायो
चितवन- चितवनमा प्रहरीले स्ववियूको निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले कलेजमा लगाएका ताला फुटाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कलेजहरुमा विद्यार्थीहरुले लगाएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्टै आज बिहान प्रहरीले ताला फोडेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार प्रहरीले मंगलबार बिहानै चितवनका विभिन्न ११ कलेजमा लगाएको ताला फोडेको हो ।
जिल्लामा त्रिविका १४ कलेजमा स्ववियुको निर्वाचन हुँदैछ । भरतपुरका ठुला कलेजहरू सप्तगण्डकी कलेज वीरेन्द्र भरतपुरमा लगाएको ताला फुटाइदिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वदलीय बैठकपछि प्रशासनले सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेसम्म ताला खोल्न समय दिएको थियो । तोकिएको समयभित्र लगाएको ताला नखोलेपछि प्रहरीले बिहानै सबै कलेजको ताला फुटाएको प्रवक्ता पण्डितले बताउनुभयो ।