वाम एकतामा दबाब दिन धनगढीबाट सङ्गीत अभियात्रा सुरु
धनगढी- वामपन्थी एकताका लागि दबाब दिन राष्ट्रका लागि सङ्गीत अभियात्रा धनगढीबाट सुरु भएको छ । शनिवार साँझबाट सुरु भएको सो अभियानका क्रममा जनवादी कलाकार जीवन शर्माले धनगढीका दर्शकलाई छमछमी नचाउनु भएको थियो ।
सो कार्यक्रममा धनगढी मात्र होइन कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न बस्तीबाट समेत दर्शकहरू ओइरिएका थिए । गायक शर्माले आफ्ना चर्चित गीत रातो लालटिन, फकल्याण्डको टापुबाट मधेसी पहाडी हिमाली हामी सबै नेपाली र सिमली छायामा दर्शकलाई नचाउनु भएको थियो ।
गायक शर्मासँगै नेकपा एमालेका स्थायी समिति सदस्य मणि थापा लगायत पनि नाच्नु भएको थियो ।धनगढीका वाम विश्लेषक डिल्लीराज जोशीले वामपन्थीहरूले आफ्नो मूलबाटो बिर्सेका बेला यस्ता जनवादी सांस्कृतिक गीतले सही बाटोमा लैजाने जोशीले दाबी गर्नुभयो । गायक शर्माले पनि जब आन्दोलनले बाटो बिराउँछ अनि जनवादी गीत सङ्गीत चाहिन्छ त्यसले वाम एकताका लागि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।