तानसेनका ५७ घरटहरामा चल्यो डोजर
पाल्पा- तानसेन ४ मख्खनटोल शित्तलपाटीका ५७ वटा घरटहरा डोजर लगाएर हटाउन सुरु गरिएको छ । नगरपालिकासहित विभिन्न सङ्घसंस्थाको नाममा रहेका ५७ वटा घरटहरा नगरपालिकाले बुधबार बिहान ७ बजेदेखि हटाउन सुरु गरेको नगरपालिकाले तीन वटा डोजर माटो सफा गर्ने पानीको फोहोरा सामान उठाउने ट्रक तथा अन्य बस्दोबस्तीका सामान तयार गरेर घरटहरा हटाउन थालेको जनाएको छ ।
नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले सामान हटाएपछि घरटहरा भत्काउन सुरु गरिएको जानकारी दिनुभयो । प्रवक्ता कार्कीले दरबार परिसरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न र पर्यटकीय स्थलको रूपमा विकास गर्न घरटहरा हटाइएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले घरटहरा हटाउँदा मर्कामा पर्ने व्यापारीलाई नगरपालिकाले व्यवस्थापन गर्ने योजना रहेको बताउनुभयो । व्यापारीहरूले भने नगरपालिकाले आफूलाई एक्कासि टहराबाट हटाएर अन्याय गरेको बताएका छन् ।