Connect with us
Kapilvast Forest

बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

२०८०, २९ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं- बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘मोखा’ नाम दिइएको यो चक्रवातलाई नेपालका मौसमविदले पनि नजिकबाट नियालिरहेको बताएका छन् ।

नेपालमा यसको असर कस्तो रहला ? अनलाइनखबरको यो प्रश्नमा जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद शान्ति कँडेल भन्छिन्, ‘हामी त्यसलाई नजिकबाट मोनिटरिङ गरिरहेका छौं । नेपालमा अलि बढी प्रभाव पार्ने भए चाहिँ हामीले बुलेटिन नै जारी गर्थ्यौं तर नेपालमा त्यसको खासै ठूलो असर पर्ने देखिँदैन ।’

नेपालमा यसले वर्षा गराउने भन्दा पनि बदली गराउने मौसमविद कँडेल बताउँछिन् । त्यसैको असरले आज कोशी प्रदेश र मधेश प्रदेशमा बादल लागेको छ । ‘आजको बुलेटिनमा पनि हामीले कोशी प्रदेश र मधेश प्रदेशको प्रदेशभरी नै आंशिक बदलीको अवस्था दिएका छौं । त्यो भनेको त्यसकै अप्रत्यक्ष प्रभाव हो,’ मौसमविद कँडेलले भनिन्, ‘अहिले यो बदलीमै सीमित छ । तर एक–दुई दिनपछि भने हल्का वर्षा पनि गराउने सम्भावना छ । तर झमझम पानी पर्ने चाहिँ हुँदैन ।’

चक्रवातको पर–परका बादलहरु बेला–बेलामा आक्कलझुक्कल नेपालको आकाशमाथि आउने र त्यसको असरले आंशिक बदली हुने उनको भनाइ छ ।

बंगालको खाडीबाट बुधबार ८ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरपश्चिमतर्फ अघि बढेको मोखा १३ मे (शनिबार) देखि गम्भीर चक्रवाती तुफानमा बदलिने भारतीय मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । यो १३ मेको बेलुकीपख चरमस्तरमा पुग्ने र १४ मेको बिहान थोरै कमजोर हुने सम्भावना छ ।

भारतीय मौसमविदहरुका अनुसार यो चक्रवाती तुफान बंगलादेश र उत्तरी म्यानमारको तटीय क्षेत्रमा १२० देखि १३० किलोमिटर प्रतिघण्टाको बेगमा बहने छ । त्यसैले बंगलादेश सरकारले तटीय क्षेत्रमा नजान चेतावनीको सन्देश प्रवाह गरेको छ । त्यहाँ प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

यसैगरी भारतका विभिन्न राज्यमा पनि हाईअलर्ट जारी गरिएको छ । यसको प्रभाव क्षेत्रमा तीव्र वेगले हावा चल्ने र भारी वर्षा हुने पूर्वानुमान छ ।

यो चक्रवात जति–जति उत्तरतिर आउँछ त्यति नेपालको नजिक हुन्छ र बढी प्रभाव पर्छ । तर अहिलेसम्म यो चक्रवात बहने दिशा हेर्दा नेपालमा भने ठूलो प्रभाव नपार्ने मौसमविदको भनाइ छ ।

मौसमविद कँडेलका अनुसार आज पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । आइतबार भने आज र भोलिको तुलनामा अलि बढी पानी पर्ने सम्भावना छ । ‘तराई तिर होइन, पहाडी भूभागमा आइतबार वर्षाको सम्भावना अलि बढी देखिन्छ त्यो पनि छोटो समयमात्र,’ मौसमविद कँडेलले भनिन्, ‘बंगालको खाडीमा बनेको चक्रवातका कारण सतर्कता नै अपनाउन पर्ने गरी भने नेपालमा वर्षा हुँदैन ।’

मौसमविद विनोद पोखरेलले पनि ट्वीट गरेर आइतबार पूर्वी नेपालमा पानी पर्नसक्ने उल्लेख गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu