नवलपरासीबाट १७ हजार राहदानी वितरण
गण्डकी प्रदेशबाट वैदेशिक रोजगार जानेमा नवलपुर दोस्रो जिल्लामा पर्छ । नवलपुरमा चालु आर्थिक वर्षको हालसम्म १७ हजार १ जनाले राहदानी बनाएका छन्। नवलपुरबाट यस आर्थिक वर्षमा पाँच सय ८२ महिला सहित १५ हजार ५ सय १६ जना वैदेशिक रोजगारका लागि गएका छन् ।
जिल्लाबाट पासपोर्ट बनाउनेलाई अनिवार्य रुपमा सूचना प्रदान गर्ने गरिएको छ । कावासोती, गैँडाकोट, मध्येविन्दु र विनयी त्रिवेणी पालिकासँगको सहकार्यमा हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)ले सुरक्षित आप्रवासन (सामी) मार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारका एक सय ८८ घटना दर्ता भएका छन् । जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी)मा एक सय ८८ घटना दर्ता भएका हुन् । जसमध्ये सामी मार्फत ८१ को समाधान गरिएको छ ।
नवलपुरमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार एक वर्षमा वैदेशिक रोजगार सम्बन्धी नवलपुरमा १ सय ८८ वटा मुद्दा दर्ता भएका हुन् । यस तथ्याङ्क अनुसार ठगीमा पर्नेको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । एक सय ८८ वटा मुद्दामध्ये एक सय १८ वटा मुद्दा ठगि सम्बन्धी रहेका छन् । उद्धार सम्बन्धी ३०, मृत्युका ३० र अन्य प्रकृतिका मुद्दा १० छन् ।
यस्तै, वैदेशिक रोजगारीका सिलसिलामा यस आर्थिक वर्षमा नवलपुरका २८ जनाले ज्यान गुमाएका छन् । विदेशमा ज्यान गुमाउनेमा गैँडाकोटकी एक महिला बाहेक सबै पुरुष रहेका छन् । कावासोतीका ६ जना, गैँडाकोटका १ महिला सहित ५ जना, मध्येविन्दुका ६ जना, विनयी त्रिवेणीका ३ जना, देवचुलीका ७ जना, हुप्सेकोटका १ जना रहेको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीले बताउनुभयो ।