Connect with us
Kapilvast Forest

तस्करी सुनको भारत लैजान टोखामा खोलिएको थियो फ्याक्ट्री

२०८०, १४ श्रावण आईतवारमा प्रकाशित

एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको छ ।

विभागका एक उच्च अधिकारीका अनुसार, प्रि-फ्याबको घरभित्र सुन गाल्ने र रि-फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने फ्याक्ट्री भेटिएपछि छापा मारेर सिल गरिएको छ ।

त्यहाँबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ ।

‘यो सुन तस्करको समूह सोचेभन्दा निकै ठूलो देखियो, राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरुपमा परिणत गराउने गरेको देखिएको छ’, अपरेशनमा खटिएका एक अधिकारीले भने, ‘रातभर छापा हानेर घरमा सिल गरेका छौं ।’

यद्यपि, कस्तो स्वरुपमा सुन परिणत गरिन्थ्यो भन्ने खुलिसकेको छैन । स्रोतका अनुसार, हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन नेपालसम्म ल्याइएपनि भारतमा त्यहीँ स्वरुपमा लैजाँदा जोखिम हुने भएकाले नेपालमा फेरि रिफ्रेम हुने गरेको आशंका गरिएको छ ।

‘भारतमै ब्रेक शु उत्पादन हुन्छ, नेपालबाट ब्रेक शु गएको कुरा खुल्दा शंका पनि हुने भयो, त्यसैले अरु कुनै स्वरुपमा भारतसम्म सुन लगिएको हुनसक्ने देखिएको छ’, ती अधिकारीले भने, ‘यसमा संलग्न नेपालहरुबारे अनुसन्धान गरिरहेका छौं ।’

अपरेशनमा खटिएका अधिकारीहरुका अनुसार, टोखाको फ्याक्ट्री र त्यहाँबाट बरामद सामानहरु हेर्दा यो गिरोहले ठूलो परिणामको सुन गालेर लगेको हुनसक्ने देखिएको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।

त्यसता हालसम्म यो प्रकरणमा विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार मात्रै विभागको टोलीले ठमेलस्थित होटल भियनामा छापा मारेर एक जना नेपाली मुलका बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj