Connect with us
Kapilvast Forest

सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने

२०८०, २६ श्रावण शुक्रबारमा प्रकाशित

सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) अब प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ । सरकारले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत यस्तो नियम ल्याएको हो । आन्तरिक राजस्व विभागका अनुसार यो नियम १ वैशाख २०८१ देखि लागु हुनेछ ।

सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ । नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानल १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ ।’

आयातकर्ताले समेत प्लास्टिकका खोलमा बेच्न नपाउने

सरकारको नियमअनुसार अब आयातकर्ताले समेत नेपाल भित्र प्लास्टिकका खोलमा यस्ता वस्तु बिक्री गर्न नपाउने भएका छन् । उनीहरुको हकमा पैठारी गर्न इजाजत पाएका प्रतिष्ठानले त्यस्ता वस्तुको प्याकिङ सड्ने वस्तुमै गर्नुपर्ने गरी नियम ल्याइएको छ । अहिले खासगरी भारतबाट अन्धाधुन्ध यस्ता वस्तु नेपाल आयात भइरहेका छन् ।

विभागले गरायो सचेत

आन्तरिक राजस्व विभागले तोकिएको अवधिभित्रै सो प्रावधान लागु गर्ने गरी तयारीमा जुट्न सुर्ती उत्पादकहरुलाई सचेत गराएको छ । जैविक रुपमा सडेर जाने सामग्रीमा मात्रै यस्ता वस्तु प्याकिङ गर्न र पैठारीमा समेत यही नियम लागु हुने भन्दै यसको आवश्यक तयारीमा जुट्न विभागले प्रतिष्ठानहरुलाई सचेत गराएको हो । १ वैशाख २०८१ देखि यो प्रावधान कार्यान्वयन नगरेमा कानुन अनुसार कारावाहीको चेतावनी सरकारले दिएको छ ।

सार्वजनिक स्थलमा सेवनमा लगाइएको रोक भने कार्यान्वयनमा छैन

सरकारले सुर्तीजन्य पदार्थलाई सार्वजनिक स्थलमा सेवन गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७६ फागुनमा एक सूचना जारी गरी सार्वजनिक स्थलमा सुर्तीजन्य वस्तु सेवनमा रोक लगाएको थियो ।

जसमा सरकारी कार्यालय, शिक्षण संस्था, विमानस्थल तथा सार्वजनिक सवारी, सार्वजनिक शौचालय, उद्योग, कलकारखाना, होटल, रिसोर्ट, सार्वजनिक प्रतीक्षालय तथा रंगशालासहितका धेरै व्यक्तिको भेला हुने स्थानमा यस्ता वस्तुको सेवनमा रोक लगाएको हो । यसलाई काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको भए पनि यसको सार्वजनिक स्थलमा हुने खुलेआम सेवन अझै रोकिएको छैन ।

अन्तःशुल्क स्टिकरको सुरक्षाका लागि अब पारदर्शी खोल प्रयोग गर्नुपर्ने

उता, अन्तःशुल्क स्टिकरको सुरक्षाका लागि अब पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नुपर्ने भएको छ । यो नियम भने १ असोजदेखि कार्यान्वयनमा आउने आन्तरिक राजस्व विभागले जनाएको छ ।

अन्तःशुल्क नियमावली २०५९ मा भएको २४ औं संशोधनले यस्तो व्यवस्था गरेको भन्दै विभागले सूचित गरेको छ । नयाँ नियम अनुसार १ असोजदेखि पैठारी गर्ने इजाजतपत्रवालाले समेत पैठारी गरेको मदिरा (बियर, वाइन र साइडरबाहेक)को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाका लागि पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो । १ असोज २०८० देखि यो नियम उल्लंघन भएमा कानुन अनुसार कारवाही हुने समेत विभागको चेतावनी छ ।

अनलाइनखबरबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu