Connect with us
Kapilvast Forest

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

२०८०, १७ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौँ, गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसङ्घीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न स्थानीय सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, विज्ञहरूसँग छलफल र सिमानाबारे प्रस्ट पारेर युनेस्कोलाई पत्र पठाइएको छ ।

उहाँले भन्नुभयो, “तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको प्रमाणित भए अनुसार संरक्षित क्षेत्रका रूपमा सूचीकृत गर्ने काम भइरहेको छ ।”

उहाँले सन् २०२४ सम्ममा सूचीकृत गर्ने तयारी अनुसार युनेस्कोले पठाएको जवाफ अनुसार तयारी गरेर आगामी विश्व सम्पदा सम्मेलनमार्फत थप प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँका अनुसार मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार देखिएको छ ।

पुरातत्त्व विभागले १६ वटा क्षेत्रलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा राखेर अध्ययन, अनुसन्धानको काम अघि बढाएको भन्दै उहाँले काभ्रेको पनौती क्षेत्रलाई समेत सम्पदा क्षेत्रमा सूचीकृत गर्ने प्रक्रियासमेत जारी रहेको बताउनुभयो ।

ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक नगर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कार्य जारी रहेको छ । युनेस्कोका नेपाल प्रतिनिधिले समेत पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाको अवलोकन गरिसक्नुभएको छ । थप प्रक्रिया अघि बढाउनेबारे शुक्रबार नगरपालिकामा थप छलफल हुँदै छ । पनौतीलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न आवश्यक तयारी अनुसार स्थानीय जनतासँग शुक्रबार पनौती नगरपालिकाले अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै छ । उक्त अन्तर्क्रिया कार्यक्रममा विभागका तर्फबाट विभागका अभिलेख अधिकृत देवेन्द्र भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट सहसचिव सुरेशकुमार श्रेष्ठ सहभागी हुने जनाइएको छ ।

विभागका अभिलेख अधिकृत देवेन्द्र भट्टराईले पनौती नगरपालिका–७ लाई विश्व सम्पदामा सूचीकृत गर्न शुक्रबार स्थानीय जनतासँग छलफल गरिन लागेको बताउनुभएको छ । उहाँले पनौतीलाई यसअघि नै विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्ने तयारी भए पनि केही प्रक्रिया पूरा नभएकाले अहिले पुनः सुरुदेखि प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । विभागले जनकपुर, मुस्ताङ, लोमान्थाङ, खोकना, रामग्राम, पनौती, गोरखा दरबार क्षेत्र, तिलौराकोट, कीर्तिपुर, नुवाकोट दरबार क्षेत्र, दैलेखको दुल्लु, रुरु क्षेत्र, सिँजा उपत्यका, तानसेन र साँखुलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा राखेको छ । उक्त सूचीमध्ये हाललाई तिलौराकोटलाई सूचीकृत गर्ने तयारी अघि बढेको र लगत्तै पनौतीलाई पनि सूचीकृत गरिने विभागले जनाएको छ ।

युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्वको धरोहरहरूलाई आफ्नो सूचीमा सूचीबद्ध गरेपछि यसलाई विश्व सम्पदा समितिद्वारा चयन गरिने छ । सूचीबद्ध भएको सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्त्वावधानमा हुने विभागले जनाएको छ । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ ।

विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । काठमाडौँ उपत्यकाका वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिरलाई सांस्कृतिक, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

सभारः गोरखापत्र

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu