सीमा सुरक्षा तथा अवैध निकासी पैठारी नियन्त्रण गरिने
सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यवासिनी बाहिनीको आयोजनामा नेपाल र भारतका डीआइजीस्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीले दिनुभएको जानकारीअनुसार सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हेडक्वाटर लखिमपुरखिरी तथा सेक्टर हेडक्वाटर गोरखपुरबीच डीआइजीस्तरीय काउन्टरपार्टस् सुरक्षा बैठक सम्पन्न भएको हो ।
एसपी शाहीकाअनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकामा भएको सो बैठकमा सीमा सुरक्षा, अवैध निकासी पैठारी नियन्त्रण, सीमा स्तम्भ मर्मत सम्भार, मानव बेचविखन र अपहरण नियन्त्रण, हातहतियार तथा लागूऔषध ओसारपसार नियन्त्रणलगायतका विषयमा छलफल भएको थियो ।
उहाँले बैठकमा दुवै पक्षले सीमा अपराध नियन्त्रण साथै नेपाली एवं भारतीय नागरिकको सुरक्षित, सहज र मर्यादित रुपमा सीमापार आवतजावत हुनुपर्नेमा जोड दिएको बताउनुभयो ।
सीमा क्षेत्रमा लक्षित दुई देशीय सुरक्षा संवेदनशीलताका विषयमा गम्भीर रुपले छलफल भएको सो बैठकमा सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सीमा सुरक्षा बलको थप प्रभावकारी तैनाथीमा जोड, दशगजा क्षेत्र खाली गर्दै सरसफाइ र सुन्दरताका लागि दुवै देशका सुरक्षा फौजबाट संयुक्त अभियान, नेपाल र भारतका नागरिकको सुरक्षित सीमापार आवत–जावतका लागि हेल्पडेस्कहरु स्थापना गर्ने र नियमित रुपमा समन्वय एवं सहकार्य जारी राख्नेलगायतका विषयमा छलफल भएको थियो ।